धरान: नेपाल सरकारको समृद्ध नेपाल सुखी नेपाली र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्यलाई सहयोग पुर्याउने उद्देश्यले धरानमा २ दिने रोजगार मेला आयोजना हुने भएको छ । 

धरान उपमहानगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरेर कोशी प्रदेश सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा बैशाख ११ र १२ गते रोजगार मेला लगाउने तयारी भइरहेको जानकारी दिएको छ । स्थानीय उद्योग, व्यवसाय, पर्यटन, होटल, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा जनशक्तिलाई रोजगार उपलब्ध गराउन सहयोग पुर्याउने उद्देश्यले मेला गर्न लागेको मेयर हर्कराज राई (साम्पाङ)ले जानकारी दिए । ‘रोजगारीको खोजीमा रहेका युवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा ल्याई आआफ्नो आवश्यकता अनुसार जनशक्ति खोज्न र रोज्न सहयोग पुर्याउनेछ,’ मेयर साम्पाङले भेन ।

मेलामा रोजगार सम्बन्धी जानकारी तथा सुचना र सम्भावित रोजगारदातासँग प्रत्यक्ष भेट गराइने उपमहानगरपालिकाले जनाएको छ । यस्तै, सीप र योग्यता अनुसारको रोजगारीको सम्भावना, व्यक्तिगत प्रोफाइल बनाउने र अन्तरवार्तासहितको रोजगारीको व्यवस्था गर्ने, आफुले रोजेको र लिन चाहने सीपमुलक तालिम सम्बन्धी जानकारी गराउने र विभिन्न तालिम प्रदायक संस्थाहरुसँग प्रत्यक्ष भेट गराउने उपमहानगरको भनाई छ । 

dharan rojgar

मेलामा ५ हजार जनासम्मको सहभागिता रहने अनुमान गरिएको छ । साथै, ५ सय जना युवा जनशक्तिले रोजगार पाउने लक्ष्य राखिएको पनि मेयर साम्पाङले बताए । मेलामा विद्यार्थी तथा युवाहरुले वृत्ति परामर्श सेवा पाउनेछन् भने बेरोजगार युवाहरुले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी पाउने उपमहानगरको भनाई छ । रोजगारदाताहरुले उपलब्ध जनशक्तिबारे जानकारी पाउनेछन् भने स्थानीयस्तरमा रहेका उद्योग तथा व्यवसायसँग उपलब्ध विभिन्न रोजगारीका अवसरबारे पनि जानकारी पाउने उपमहानगरले जनाएको छ । 

प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईले आजको पत्रकार सम्मेलन रोजगार मेलाको जानकारी गराउन आयोजना गरिएको र तयारी सकिएपछि पुनः अर्को पत्रकार सम्मेलन गर्ने बताए । उनका अनुसार अहिलेसम्म उपमहानगरपालिकामा १५ सय जनाले आफु बेरोजगार भएको भनेर फारम भरिसकेका छन् । यो तथ्यांक अझै बढ्न सक्ने र दोस्रो पत्रकार सम्मेलनमा बेरोजार फारम भर्नेहरुको तथ्यांक पनि पेश गरिने उनले बताए । ‘१५ सय जनाले फारम भरिसकेका छन्, दोस्रो पत्रकार सम्मेलनमा थप तथ्यांकसहित आउनेछौं,’उनले भने ।

रोजगार क्याफेको उद्घाटन

rojgar cafe

रोजगार सम्बन्धी सुचाना प्रवाह गर्न तथा रोजगारीको खोजीमा रहेकाहरुलाई रोजगार विनिमय सेवा प्रदान गर्ने उद्देश्यले धरान उपमहानगरपालिकामा रोजगार क्याफे सञ्चालनमा आएको छ । उपमहानगरपालिकामा रहेको नमुना रोजगार सेवा केन्द्रमा उक्त क्याफेको आइतबार मेयर साम्पाङले उद्घाटन गरेका थिए । 

क्याफेमा इन्टरनेटसहितको एक सेट कम्प्युटर, प्रिन्टर रहनेछ भने सेवाग्राहीहरुलाई फ्रि वाइफाइ सुविधा पनि हुने उपमहानगरको भनाई छ । यस्तै, सेवाग्राहीहरुलाई रोजगारीको खोजी गर्न विभिन्न रोजगारीका लिंकहरु उपलब्ध गराउने, रोजगारी खोजी गर्ने क्रममा चाहे अनुसारको रोजगारीमा आवेदन दिनुपरेमा सहयाग गर्ने, आवश्यक परेको खण्डमा सि.भि.तयार गरी उपलब्ध गराउने प्रमुख प्रशासकीय अधिकृत चौलागाईले बताए । 

भिडियो: