धरान: धरान १६ नौलो वस्तीस्थित निर्माणाधिन अस्थायी प्रहरी चौकीको काममा अवरोध पुग्ने गरि बहुभाषिक पाठशालाको गेटमा लगाइएको ताला वडाअध्यक्षले नै फुटाएर काम सुचारू गरेका छन् ।

अध्यक्ष मुरारी भट्टराईका अनुसार उक्त गेटमा गए राती अज्ञात समूह आएर नयाँ ताला लगाएको थियो । उक्त ताला खोल्न मेयर हर्कराज राई (साम्पाङ) सङ्ग समन्वय गर्दा चाबी नपाएको र कस्ले चाबी लगाएको भन्ने पत्ता नलागेपछि फुटाउनु परेको अध्यक्ष भट्टराईले बताए । 'काम सुचारू गर्नुपर्ने थियो, मेयर साबले ताला लगाको हो कि भनेर नगर प्रहरी पठायौ तर चाबी आएन,' अध्यक्ष भट्टराईले भने,' चाबी लगाउने कोही नभेटिएपछि काम सुचारू गर्न हामीले खोल्नुपर्यो । नयाँ तालाचाबी ल्याएको छौं ।'

ताला फोडेपछि चौकी निर्माण कार्य सुचारू भएको छ । अध्यक्ष भट्टराईले आइतबारदेखि चौकी निर्माणस्थलमा नै बसेर अफिसको काम गर्ने बताए । 'निर्माण नसकेसम्म म यहीँबाट अफिसको काम गर्नेछु, जनतालाई दुस्ख दिन्न। कर्मचारीले नै कागजपत्र लिएर यहाँ आइदिन्छन्,' उनले भने,'यो बर्ष जसरी पनि चौकी बनाईसक्छौ ।'

20250627_144718

चौकी निर्माण गर्न यो बर्ष प्रदेश सान्सद ममता योन्जनमार्फत ८ लाख विनियोजन गरिएको छ । उक्त बजेटमा थप रकम सहयोग जुटाएर चौकी निर्माण कार्य सम्पन्न गर्ने पनि अध्यक्ष भट्टराईले बताए ।

गेटको ताला फोडेर काम सुचारू हुनुअघि नौलो बस्तीमा तनावपूर्ण स्थिति बनेको थियो । उपमेयर अइन्द्र बिक्रम बेघासहित विभिन्न वडाका अध्यक्षहरु, कार्यपालिका सदस्य र स्थानीयबासीहरु ठुलो संख्यामा भेला भएका थिए । नगर प्रहरी, जनपद प्रहरी र सशस्त्र प्रहरी पनि सुरक्षाको लागि परिचालन भएको थियो ।

चौकी निर्माण स्थानीय जनताको माग अनुसार भैरहेको बेला सरकारले सहजीकरण गर्नुपर्नेमा रोक्नु उचित नहुने बताए । मेयर साम्पाङले चौकी बनाउन नदिने भनेको उल्लेख गर्दै बेघाले जनताको माग वमोजिम नै सोही स्थानमा चौकी बन्ने बताए ।  

मेयर साम्पाङकै अध्यक्षतामा भएको कार्यपालिका बैठकले निर्णय गरेर सिफारिस भएको आधारमा उक्त चौकी निर्माण कार्य सुरु भएको थियो । पहिलो बर्ष वडा कार्यालयले १० लाख बजेट विनियोजन गरेर बेस बनाएको थियो ।  गत आर्थिक बर्षमा पनि प्रदेश सरकारबाट २५ लाख विनियोजन भएपनि बजेट फ्रीज भएको थियो ।