धरान: एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर शनिबार (असार १४ गते) एम्स एसईई दौड प्रतियोगिता हुने भएको छ ।

धरान १२ चतरालाइनस्थित एम्स एकेडेमीले शुक्रबार पत्रकार सम्मेलन गर्दै शनिबार बिहान ७ बजे दौड हुने जानकारी दिएको हो । उक्त दौडको आयोजक एम्स एकेडेमीमा रहेको विद्यार्थीहरुको समुह एम्स क्रिएटिभ ग्रुप हो । गु्रपकी अध्यक्ष सोया श्रेष्ठका अनुसार दौडको सबै तयारी पुरा भइसकेको छ । ‘अहिलेसम्म ३५० भन्दा बढीले फारम भरिसकेका छन्, भोली शनिबार बिहान साढे ६ बजेसम्म फारम भर्न सकिन्छ,’ अध्यक्ष श्रेष्ठले भनिन्,‘एसईई र खुल्ला गरी २ वटा क्याटोगरीमा दौड हुनेछ ।’

दौडको दुरी करिब ६ किलोमिटर रहेको छ । एकेडेमीबाट शुरु हुने दौड छाताचोक, सिंहदेवी चोक, माछा भौडी, भानुचोक, दुर्गाचोक, रत्न चोक, मंगलबार हुदै पुनः एकेडेमीमा आएर टुंगिनेछ । एसईई क्याटोगरीमा एसईई परीक्षा दिएका विद्यार्थीहरुबीच स्पर्धा हुनेछ भने खुल्ला क्याटोरीमा ५,६ कक्षादेखि ५५ बर्ष उमेरसम्मकाले फारम भरेको अध्यक्ष श्रेष्ठले बताइन् ।

दौडमा एसईईतर्फको महिला र पुरुषतर्फ प्रथम पुरस्कार विजेता जनही नगद ५ हजार र सत प्रतिशत छात्रवृत्ति पाउनेछन् भने दोस्रो हुनेले नगद ३ हजार र ७५ प्रतिशत छात्रवृत्ति, तेस्रो हुनेले नगद एक हजार र ५० प्रतिशत छात्रवृत्ति पाउनेछन् । खुल्ला क्याटोगरीको विजेता महिला र पुरुषलाई पनि बिशेष पुरस्कारको व्यवस्था रहेको अध्यक्ष श्रेष्ठले बताइन् । टप ५ सम्मका खेलाडीहरुलाई मेडल र प्रमाणपत्र दिइनेछ भने रन पुरा गर्ने सबैलाई प्रमाणपत्रको व्यवस्था रहेको आयोजकले जानकारी दिएको छ । ट्राफिक, मेडिकल टिम, एम्बुलेन्स, स्वयम्सेवकको सबै व्यवस्थापन भइसकेको पनि आयोजकको भनाई छ । 

aims see run 1

एकेडेमीका अध्यक्ष प्रकाश राईले विद्यार्थीहरुलाई पढाईसँगै खेलकुदको माध्यमबाट पनि अब्बल बनाउने उद्देश्यले गत बर्षदेखि एम्स एसईई रनको शुरुवात गरिएको बताए । यद्यपी, यसपाली दौडमा अभिभावक र समाजका प्रतिष्ठित, बुद्धिजिविहरु पनि सहभागी हुने उनले बताए । ‘दौड मात्र होइन, विद्यार्थीहरुको शारीरिक र मानसिक विकासको लागि विगतदेखि नै खेलकुद, सामाजिक गतिविधिहरुमा सहभागीता गराउदै आएका छौं,’ उनले भने,‘यो कलेजले गर्ने होइन, विद्यार्थीहरु आफैले आयोजना गर्ने हो । हामी त सहयोगी मात्र हौं ।’

शिक्षक सन्तोष कोइरालाले धरानमा गुणस्तरीय शिक्षासँगै अतिरिक्त गतिविधिमा पनि एम्स उत्कृष्ट छ भनेर विद्यार्थीहरुको सक्रियताले प्रमाणित गर्ने बताए । ‘हाम्रो विद्यार्थीहरुले उत्कृष्ट नतिजा दिइरहेका छन्,’उनले भने,‘धरान शैक्षिक गन्तव्य हो, यहाँ गुणस्तरीय शिक्षा पाइन्छ भन्ने उदाहरण पेश गरिरहेका छौं ।’