धरान: एम्स एसईई रनमा पुरुषतर्फ अप्सु आङ्देङ्बे र महिलातर्फ टिका लिम्बु प्रथम भएका छन् ।
धरान १२ स्थित एम्स एकेडेमीको विद्यार्थी समुह एम्स क्रिएटिभ ग्रुपले आज शनिबार आयोजना गरेको रनमा अस्सुले १९ मिनेट २५ सेकेण्डमा निर्धारित दुरी पार गर्दै विजेता बने भने टिकाले ३०.५३ सेकेण्डमा दुरी पुरा गर्दै महिलातर्फ विजेता बनिन् ।
यस्तै, पुरुषतर्फ सविन विश्वकर्माले १९ मिनेट ३२ सेकेण्डमा दुरी पार गर्दै दोस्रो भए भने पेटिस लिम्बुले १९.५० सेकेण्डमा रन पुरा गर्दै तेस्रो भए । यसैगरि, महिलातर्फ युनिषा कटवालले ३१ मिनेट ०९ सेकेण्डमा रन पुरा गर्दै दोस्रो भइन् भने मनिका राईले ३३ मिनेट ५१ सेकेण्डमा दौड पुरा गरेर तेस्रो भइन् ।
एसईई क्याटोगरीका महिला र पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद ५ हजार, ३ हजार र एक हजार, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् । यस्तै, प्रथम हुनेले सतप्रतिशत, दोस्रो हुनेले ७५ प्रतिशत र तेस्रो हुने खेलाडी विद्यार्थीले ५० प्रतिशत छात्रवृति पनि पाएका छन् । सहभागी विद्यार्थीहरुलाई भर्नामा ५० प्रतिशत छुट पाउने भएका छन् ।
रनमा ओपन क्याटोगरीमा पुरुषतर्फ अमिर लिम्बुले निर्धारित दुरी १७ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै विजेता भए भने महिलातर्फ पुष्पा लिम्बुले २२ मिनेट ५३ सेकेण्डमा पुरा गदै विजेता बनिन् । दुवै जनालाई नगद १५ सय, मेडल प्रदान गरिएको थियो । विजेताहरुलाई एम्स एकेडेमीका अध्यक्ष प्रकाश राई, कार्यक्रमका प्रमुख अतिथि एवं अखिल नेपाल फुटबल संघ प्रदेश कमिटी अध्यक्ष किसोर राई, अखिल नेपाल फुटबल संघ सुनसरी जिल्ला अध्यक्ष नविन राईले पुरस्कार प्रदान गरेका थिए ।
दोस्रो सँस्करणको एम्स एसईई रनको निर्धारित दुरी ६ किलोमिटर रहेको थियो । एकेडेमीबाट शुरुवात भएको रन विभिन्न चोक हुदै पुनः एकेडेमीमै पुगेर टुंगिएको थियो । विद्यार्थीहरुलाई पढाईसँगै खेलकुदको माध्यमबाट पनि अब्बल बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एकेडेमीको भनाई छ ।