धरान: प्रथम मदन भण्डारी स्मृति क्लबस्तरीय महिला फुटबल प्रतियोगितामा धरान लेडिज क्लब च्याम्पियन भएको छ । 

धरान १६ स्थित रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा फेयर फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै धरान लेडिज च्याम्पियन भएको हो । धरान लेडिजको जितमा दुवै गोल सुनिता राईले गरेकी थिइन् । उनले पहिलो र दोस्रो हाफको खेलमा एक एक गोल गरिन् । च्याम्पियन धरान लेडिज क्लबले नगद ५० हजार र ट्रफी हात पारे भने उपविजेता फेयर क्लबले नगद २५ हजार हात पार्यो । 

ladies final

फाइनल खेलको प्लेयर अफ दि म्याच धरान लेडिजकी प्रतिक्षा राई घोषित हुदै नगद २ हजार हात पारिन् । प्रतियोगिताको वेष्ट गोलकिपर धरान लेडिजकी विनु राई, बेष्ट डिफेन्डर धरान लेडिजकै आयुषा राई, बेष्ट मिडफिल्डर धरान लेडिजकै कुसुम राई, वेष्ट स्ट्राइकर फेयर फुटबल क्लबकी प्रशन्न राई घोषित भइन् । बेष्ट कोच धरान लेडिजका अर्जुन राई, प्रतियोगितामा ६ गोल गरेकी सुनिता राईले हाई स्कोरर, उदयीमान खेलाडी फेयर फुटबल क्लबकी इछिन्सा लिम्बु घोषित भइन् । सबैले जनही नगद २ हजार हात पारे ।

यस्तै, वेष्ट टिम घोषित पटनाली फुटबल क्लबले नगद ३ हजार हात पार्दा प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित धरान लेडिजकी खेलाडी जिनु राईले नगद ५ हजार हात पारिन् । विजेता तथा उपविजेता टिमका खेलाडी, व्यक्तिगत पुरस्कार विजेता खेलाडीहरुलाई प्रमुख अतिथि एवं कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थ, एन्फा प्रदेश अध्यक्ष किशोर राई, धरानकी पुर्वनगर उपप्रमुख मञ्जु भण्डारीलगायतले पुरस्कार वितरण गरेका थिए ।