धरान: धरान उपमहानगरपालिका वडा नं १६ नौलो बस्तीस्थित निर्माणाधिन अस्थायी प्रहरी चौकीको विवादमा सहमति जुटेको छ ।

मेयर हर्कराज राई (साम्पाङ), उपमेयर अइन्द्रबिक्रम बेघासहित वडाअध्यक्षहरु फिल्डमै पुगेर छलफल गरेपश्चात सहमति जुटेको हो । यो सहमतिसँगै चौकी निर्माण गर्न वडा कार्यालयलाई सहजता भएको छ । मेयर साम्पाङले स्थानीय जनताको माग वमोजिम प्रहरी चौकी निर्माणमा वाधा अवरोध नहुने बताएपछि स्थानीयबासी खुशी भएर ताली बजाएका थिए । उनले चौकी निर्माणको लागि मेयर कोषबाट आगामी आर्थिक बर्षमा १० लाख रुपैया विनियोजन गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।

उपमेयर बेघाले जनताको माग पुरा भएकोमा बधाई दिदै कुनै पनि विवाद नगरी चौकी निर्माण हुनुपर्ने बताए । ‘जनताभन्दा माथि कोही छैनन् । जनताको अवाश्यकता पुरा गर्न आएका हौ, छलफल भएको बिषयलाई नाकमा, घाँटीमा चाबी झुण्डाउनेलाई खबरदारी गर्नुपर्छ,’ उनले भने,‘बहस र छलफल हुन्छ घरभित्र, तर बाहिर आगो लगाउने फटाहा हो । सही काम गर्दा मेयरको पछि हिड्छौ, गलत गर्दा खबरदार पनि गछौं ।’ 

वडा नं १६ का अध्यक्ष मुरारी भट्टराईले बहुभाषिक पाठशालालाई अवरोध हुने देखिएमा प्रहरी चौकी र स्वास्थ्य चौकीलाई छुट्याउने गरि कम्पाउण्ड वाल बनाउन आग्रह गरेका थिए । उनले पाठशाला बन्नुअघि नै प्रहरी चौकी बन्न शुरु भएको पनि बताए । चालु आर्थिक बर्षमा प्रदेशबाट विनियोजित ८ लाख बजेटबाट निर्माण कार्य शुुरुवात गरेपछि मेयर साम्पाङले रोक्का गर्न प्रदेश सरकारमा पत्राचार गरेपछि विवाद शुरु भएको थियो ।

golghar copy

स्थानीयबासी र वडाअध्यक्ष भट्टराईले चौकी निर्माण हुनैपर्ने र निर्माण कार्य नरोकिने प्रष्ट पारेका थिए । निर्माण कार्य अवरोध हुनेगरी ताला लगाएपछि द्धन्द थप चर्किएको थियो । वडाअध्यक्षकै नेतृत्वमा उपमेयर बेघासहित विभिन्न वडाअध्यक्षहरु उपस्थित भएर ताला तोडेर काम सुचारु समेत भएको थियो । स्थानीय जनता पनि भड्किएको र सबै जनप्रतिनिधिहरु एकजुट भएपछि अन्ततः मेयर साम्पाङ पनि निर्माण कार्य अवरोध नहुने भन्दै नौलोबस्ती पुगेका हुन् । 

छलफल पश्चात जनप्रतिनिधि र स्थानीयबासीहरुले स्थलगत निरीक्षण गर्दै चौकी र पाठशालाको क्षेत्र छुट्याउने काम पनि गरेका थिए । छलफलमा वडा नं १ का अध्यक्ष यज्ञमणी आचार्य, वडा ३ का विद्यासुन्दर शाक्य, वडा ८ का धनबहादुर राई, वडा ९ का रुपेश आचार्य, वडा १० का विवेक राई, वडा १४ का अध्यक्ष कृष्ण भट्टराई, वडा १५ का अध्यक्ष नरेश इवारम, वडा १८ का नरेन्द्रकुमार राई (प्रविण), वडा १९ का अध्यक्ष पुर्ण राई, कार्यपालिका सदस्य विकास भाटी पनि पुगेका थिए । यस्तै, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाई पनि थिए ।

भिडियो: