धरान: पछिल्लो समय धरानमा घटेका तीन वटा गम्भीर अपराधिक घटनाका आरोपीहरुलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानले आज शुक्रबार पत्रकार सम्मेलन गरेर धरान १६ स्थित नौलो बस्तीमा एक बालिकामाथि भएको यौन दुव्यर्वहारको घटनासँगै वडा नं १० स्थित भिआरसि चोकमा भएको खुकुरी आतंकको घटना र तीन महिना अघि चोरी भएको घटनामा मुख्य आरोपीहरुलाई सार्वजनिक गरेको हो ।
डिएसपी प्रकाश जगेबुले समाजमा शान्ति सुरक्षा कायम गराउन र अपराधिक गतिविधिहरु नियन्त्रण गर्न प्रहरी निरन्तर सक्रिय भइरहेको बताए । उनले अपराधजन्य घटना निमिट्यान्न पार्न र कानुनी दायरामा ल्याउन प्रहरी सदैव तयार एवं सक्षम रहेको पनि बतए ।
को हुन् यौन दुव्र्यवहार आरोपी व्यक्ति ?
प्रहरीका अनुसार नौली बस्ती स्थित सर्दु खोलामा श्रमदानमा गएकी १३ बषीय बालिकालाई गत बैशाख १७ गते वाल यौन दुव्यर्वहार भएको थियो । करिब ५०/५५ बर्षको व्यक्तिले दुव्यर्वहार गरेको भनेर जानकारी आएपनि हुलिया खुलेको थिएन । ती आरोपितलाई असार १९ गते (हिजो) पक्राउ परेको र संवेदनशील बिषय भएकोले पीडकको नाम पनि खुलाउन नमिल्ने डिएसपी जबेगुले बताए ।
पीडित पक्षबाट बालयौन दुरुपयोग अभियोगमा जाहेरी आइसकेको र प्रक्रिया अघि बढीसकेको पनि डिएसपी जबेगुले बताए । उक्त घटना मिलाउन लागेको भनेर आरोप लागेका व्यक्तिहरुबारे पनि अनुसन्धान हुने उनले बताए । मिलाउन केही व्यक्तिहरु लागेको भनेर अफवाहहरु आएपनि पीडित र पीडकको वयानबाट खुल्यो भने मुद्दा तोडमोड गर्न, मिल्न दबाब दिनेहरुलाई कानुन वमोजिम कारबाही हुने पनि डिएसपी जबेगुले बताए ।
यस्ता घटनाहरु मिलापत्र नगराउन र बेलैमा प्रहरीलाई जानकारी गराउन पनि उनले बताए। डिएसपी जबेगुले नाम नखुलाएपनि आरोपी धरान वडा नं १७ का ४९ बर्षीय खजिन्द्र राई भएको प्रहरी स्रोतको भनाई छ ।
खुकुरी आंकत मच्चाउने तीन पक्राउ
प्रहरीले असार १२ गते धरान वडा नं १० भिआरसि चोकमा एक युवालाई मोटरसाइकलमा सवार भएर खुकुरी प्रहार गरी आतंक मच्याउने तीन जनालाई पनि पक्राउ गरेको छ । उक्त घटनामा संलग्न मोटरसाइकल चलाउन १८ बर्षी साइमन चौधरी, २१ बर्षीय पासाङ शेर्पा र २१ बर्षीय प्रशान्त प्रधानलाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो । उक्त घटनामा संलग्न अन्यको खोजी भइरहेको पनि डिएसपी जबेगुले बताए ।
असार १२ गते करिब ६ बजे वडा न. १० स्थित भिआरसि चोकमा को २० प ७५६३ नम्बरको मोटरसाइकलमा सवार ३ जनाले वडा २० का २८ बर्षीय समिर राईलाई लखेटेर आक्रमण गरेका थिए । उक्त घटनाको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
प्रहरीले साइमन चौधरीलाई विराटनगरको रोडशेष चोकबाट पक्राउ गरेर असार १७ गते धरान ल्याएको थियो । चौधरीले नै उक्त घटनामा धरान ११ मंगलबारे चोकका प्रशान्त प्रधान र पासाङ शेर्पा पनि संलग्न भएको वयान दिएपछि थप दुवैलाई पक्राउ गरिएको डिएसपी जबेगुले बताए । उक्त घटनामा प्रयोग भएको मोटरसाइकल, हेल्मेट, खुकुरी र फलामको रड पनि वरामद गरिएको उनले बताए ।
पुरानो रिसइबीमा आक्रमण भएको भनिएपनि मुख्य कारण लागुऔषध दुव्र्यसन भएको अनुसन्धानको क्रममा खुल्न आएको पनि डिएसपी जबेगुले बताए । ‘अनुसन्धानको क्रममा मोवाइल संवाद हेर्दा पुरानो झगडा मात्र होइन, उनीहरु लागुऔषध प्रयोगकर्ता हो, के कुरामा नमिलेको हो, खुल्न बाँकी नै छ,’ उनले भने ।
घर फोडेर सुनचाँदी र नगद चोरी गर्ने तीन महिनापछि पक्राउ
प्रहरीले तीन महिनाअघि धरान १५ की पवित्रा मगरको घर फोडेर नगद, सुनचाँदीको गरगहनालगायत चोरी गरेर फरार एक आरोपीलाई पनि पक्राउ गरि सार्वजनिक गरेको छ । उक्त घटनामा संलग्न काभ्रोपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका ६ भञ्ज्याङ बस्ने ४१ बर्षीय सोनाम लामा पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको हो ।
चोरीको घटना पश्चात फरार रहेको लामालाई उच्चतम प्रविधि तथा बिशेषेज्ञ टोली खटाएर असार १४ गते काठमाण्डौंको दरबारमार्ग एरियामा लुकीपिछी बसेको सुचनाको आधारमा पक्राउ गरिएको पनि डिएसपी जबेगुले बताए । प्रारम्भिक अनुसन्धानबाट लामाले धरानको २ वटा घरमा चोरी गरेको पनि खुलेको जबेगुले जानकारी दिए । उनका अनुसार ४ लाख ४९ हजार ६ सय नगद, २ तोला सुन र १७ तोला चाँदी चोरी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
लामाको अपराध गर्ने तरिका पनि अचम्म लाग्ने खालको छ । प्रहरीका अनुसार लामाले सवारीसाधानहरु भाडामा लिएर विभिन्न ठाउँमा पुग्ने र भिआइपी तरिकाले होटलमा बस्ने गरेका छन् । साथै, मानिस नभएको घरहरु रेक्की गरेर घरको ढोका फोडी चोरी गर्ने प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको पनि डिएसपी जबेगुले बताए । उनलाई चोरी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
लामाले गत चैत २४ गते दिउँसो करिब १ बजे मगरको घर फोडेर नगद ७ हजार, चाँदकीको थाल, बटुका, चम्चासमेत १५ तोला, चाँदीको पाउजु ३ जोर २० तोला, चाँदीको औठी एक थान, एक तोला चाँदीको सिक्का, चारआनी तौलको सुनको टप २ जोर, एक तोला सुनको औठी, चारआनी सुनको सिरबन्दीसमेत चोरी गरेका थिए ।