धरान: प्रविधिको विकास र पहुँचले चुनौती थपिएपनि विश्वासनिय कन्टेन्ट पस्किएमा पत्रकारितामाथिको संकट टार्न सकिने औल्याइएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीले मंगलबार इटहरीमा आयोजना गरेको सम्पादक/ प्रकाशकहरुसँगको अन्र्तक्रियामा यो कुरा औल्याइएको हो । कार्यक्रममा छापा माध्यम, अनलाइन र टेलिभिजनको छुट्टाछुट्टै समुह बनाएर छलफल भएको थियो । छलफल पश्चात समुहको निष्कर्ष प्रस्तुत गर्दै सम्पादकहरुले पछिल्लो समय सामाजिक सञ्जाल तथा युट्युबलगायतले चुनौती थपेपनि विश्वसनीय कन्टेन्टले पत्रकारिताको महत्वलाई जोगाउन सकिने धारणा राखे ।
अनलाइन मिडियाकोतर्फबाट छलफलको निष्कर्ष प्रस्तुत गर्दे बाबुराम सुवेदीले कुनै घटना वा सुचना सामाजिक सञ्जालमा तत्काल सार्वजनिक भएपनि पत्रकारले उक्त बिषयमा गहिरो खोजी गर्ने वा फरक कोणबाट समाचार प्रस्तुत गर्नुपर्ने बताए । ‘पत्रकारले फरक कोणबाट समाचार प्रस्तुत गर्नसकिन्छ, यसले पत्रकारिताको विश्वसनीयतालाई पनि थप मजबुद बनाउछ, कायम राख्छ,’उनले भने,‘अनलाईन मिडियालाई अझै राज्यले चिनेको छैन, सरकारी कार्यालयहरुले विज्ञापन दिन मान्दैनन् । यसतर्फपनि ध्यान जान जरुरी छ ।’ अनलाइन मिडिया धेरै भएकोले आर्थिकरुपमा टिक्न गाह्रो भइरहेकोले मर्ज गर्नतर्फ पनि ध्यानाकर्षण गराइएको थियो ।
छापा माध्यमकोतर्फबाट निष्कर्ष प्रस्तुत गर्दै पत्रकार सुविद गुरागाईले छापाको समय सकियो भनेपनि विश्वसनीयता छापा माध्यमकै भएको बताए । अहिले पनि कुनै समाचार प्रमाणकोरुपमा प्रस्तुत गर्नुपर्दा छापामा आएको समाचारलाई नै लिने गरेको भन्दै उनले भने,‘अस्तित्वमा छापा माध्यम छ, समाजले स्वीकारेको यही छापा माध्यमलाई नै हो ।’
यद्यपी उनले तीन दशकअघि पत्रकारितमा रहेको समस्या अहिले पनि ज्युँ का त्युँ रहेको बताए । पत्रकारितामा दक्ष जनशक्तिको अभाव, श्रमजिवी पत्रकार ऐन लागु नभएको, मोफसलमा पनि विधागत पत्रकारिताको शुरुवात हुन नसकेको उनले बताए । विज्ञापन एजेन्सीको कारण विज्ञापनमा अस्वस्थ्य प्रतिस्पर्धा रहेको पनि उनले बताए । रेडियोको फ्रिक्वेन्सी सजिलोरुपमा नपाइने समस्या रहेको पनि उनले ध्यानाकर्षण गराए ।
टेलिभिजन समुहकोतर्फबाट बिकल पौडेलले दक्ष जनशक्ती र कन्टेन्टको अभाव रहेको बताए । अग्रज पत्रकार गंगा वरालले मिडिया बचाउन नसकेको र संकटमा रहेको बताइन् । पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष अमर खड्काले विश्वसनीय र स्तरीय कन्टेन्ट पस्किएमा समाजले सम्मानितरुपमा हेर्ने बताए । पुर्वअध्यक्ष कृष्ण अधिकारीले अनलाइन मिडियाले अझै विश्वासनीयता पाउन नसकेको र छापाको महत्व अझै रहेको बताए । वरिष्ठ पत्रकार हर्ष सुब्बा, पुर्वअध्यक्ष आनन्द श्रेष्ठ, कृष्णविनोद लम्साललगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । दोस्रो चरणमा पत्रकार आचारसंहिताबारे अनुशिक्षण कार्यक्रम गरिएको महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले जानकारी दिए ।