धरान: आगामी भदौ अन्तिम साता प्रथम मिस्टर तरुण वडिविल्डिङ च्याम्पियनसिप २०८२ आयोजना हुने भएको छ ।
नेपाल तरुण दल प्रतिनिधिसभा क्षेत्र नं.१ कार्यसमितिले विहिवार पत्रकार सम्मेल गरि आगामी भदौ २७ र २८ गते सुनसरी क्षेत्र नं.१ स्तरीय च्याम्पियनसिप गर्ने जानकारी दिएको हो । युवाहरुलाई उत्कृष्ट खेलाडी बन्ने र खेल्ने अवसर प्रदान गर्न च्याम्पियनसिप गर्न लागेको आयोजक तरुण दल क्षेत्रीय कार्यसमिति अध्यक्ष अजय राईले जानकारी दिए ।
प्रतियोगिता धरान १५ स्थित शिक्षा सदन स्कुलको सभाहलमा हुनेछ । प्रतियोगितामा ५५, ६०, ६५, ७० र ७५ किलो तौल समुहमा प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौल समुहको प्रथम हुने खेलाडीले उपाधीको लागि ओभरअल राउन्डमा भिड्नेछ । ओभरअल राउण्ड विजेताले नगद १ लाख र उपाधि ट्रफी हात पार्नेछ भने दोस्रो हुनेले नगद ५० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार र पाचौं हुने खेलाडीले १५ हजार पुरस्कर पाउने आयोजकले जनाएको छ ।
यस्तै, उत्कृष्ट पोजर र उत्कृष्ट मस्कुलरले नगद १० हजारसहित ट्रफी एवम् प्रमाणपत्र पाउनेछ । कार्यक्रमको संयोजन नेपाली कांग्रेस र प्राविधिक सहयोग सुनसरी जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघको रहने पनि आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता आयोजना गर्न मुख्य प्रायोजक, सहप्रायोजक, नेपाली कांग्रेस, जनप्रतिनिधि र विदेशबाटसमेत गरि कुल ९ लाख आय हुने अनुमान छ भने अनुमानित खर्च ८ लाख रहेको पनि आयोजकले जनाएको छ । खर्चमध्ये पुरस्कारमा २ लाख ३५ हजार विनियोजन गरिएको छ ।
अध्यक्ष राईले तरुण सोच भएकोले राजनीतिक र सामाजिकरुपमा तरुणहरुलाई लक्षित कार्यक्रमहरु आयोजना गरिएको बताए । आगामी बर्षहरुमा पनि यो प्रतियोगिताले निरन्तरता पाउने उनको भनाई छ । यसअघि पनि राष्ट्र निर्माणमा तरुणहरुको योगदान भन्ने नारालाई आत्मसाथ गरेर क्षमता अभिवृद्धि गर्न एक दिने लिडरसिप तालिम पनि आयोजना गरिएको उनले बताए । तरुण युवाहरु हरेक क्षेत्रमा अगाडि आउनुपर्ने पनि उनले बताए ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेस प्रदेश समिति सदस्यसमेत रहेका एन्फा प्रदेश अध्यक्ष किसोर राईले यस्ता खेलकुदको गतिविधिहरुले तरुण, युवाहरुलाई राष्ट्रप्रति जिम्मेवार र अनुशासित पनि बनाउने बताए । साथै, खेलकुदलाई व्यवसायिक, रोजगारमुखी बनाउन पनि यस्ता प्रतियोगिताहरुले मद्दत पुर्याउने उनको भनाई थियो । धरानमा फिटनेस सेन्टरहरु राम्रोसँग सञ्चालन भइरहेको र यसले धेरैलाई रोजगारी दिएको, खेलाडीहरु उत्पादनमा पनि योगदान पुगेको उनले बताए ।
भिडियो: