धरान: तत्कालिन एकीकृत नेकपा माओवादीको सातौं (हेटौडा) महाधिवेशन (२०६९)ले पार्टी नेता, कार्यकर्ताहरुलाई उत्पादन र श्रसँग जोड्न उत्पादन बिग्रेड गठन गर्ने निर्णय पारित गरेको थियो । तर यो निर्णय व्यवहारिकरुपमा कार्यान्वयनमा आउन भने सकेन ।

पार्टी नेतृत्वले बिर्सेको उक्त निर्णयलाई धरान १९ का नेकपा माओवादी केन्द्रका नेता, कार्यकर्ताहरुले भने अहिले व्यवहारमा उतार्न लागिपरेका छन् । पार्टीको वडा १९ कमिटीको निर्णय र पहलमा रामधुनी नगरपालिका ७ रानीपोखरी दक्षिणमा करिब १० बिघा जग्गा लिजमा लिएर सामुहिक खेती शुरुवात गरेको हो । हिजो असार १५ मा राष्ट्रिय धान दिवसको अवसर पारेर सामुहिक रोपाई गरेर खेतीको शुभारम्भ गरिएको थियो । उक्त कार्यक्रममा पार्टीको केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइञ्चार्ज अजम्बर काङमाङ राईसहित प्रदेश, जिल्ला र नगरस्तरका नेता, कार्यकर्ताहरु पनि सहभागी भएका थिए । 

उत्पादन र श्रमसँग जोड्ने यो अभियानमा पार्टीका नेता, कार्यकर्ताहरु मात्र होइन, पार्टीमा नभएका जोकोही इच्छुकलाई पनि समावेश गर्ने माओवादी नेता सन्तोष लिम्बुले जानकारी दिए । ‘हेटौडा महाधिवेशनले उत्पादन बिग्रेड बनाउने निर्णय गरेको थियो, तर कार्र्यान्वयनमा आउन सकेन । नेकपा विप्लव समुहले गरिरहेको छ, त्यसको प्रभाव पनि हामीलाई परेको हो, कपि होइन । फरक गर्नुपर्छ भुन्ने भएर यो गरेका हौं,’ उनले भने, ‘अब हामी उत्पादनसँग जोडिनुपर्छ, कृषिप्रधान देशमा हामी सबै कृषिसँग जोडिनुपर्छ भन्ने सोचेर १० बिघा जग्गा लिजमा लिएकोर शुरु गरेका छौं ।’ 

ramdhuni1

पार्टीले कार्यकर्ताहरुसँग लेबी र चन्दा उठाइरहदा हैरान भएकोले आफै उत्पादनमा लाग्ने र आत्मनिर्भर हुन यो अभियान थालिएको उनले बताए । उत्पादनलाई पार्टीको आम्दानीको स्रोत बनाउन पनि केही छुट्याउने र जर्बजस्ती चन्दा उठाउने चलनलाई हटाउने पक्षमा आफुहरु रहेको उनको भनाई थियो । 

खेतीको लागि जग्गा लिनमा लिन सम्बन्धित जग्गा धनीसँग समन्वय गर्न र संयोजनको जिम्मा वडा कमिटीले नगरका नेता सन्त तेम्बेलाई जिम्मेवारी दिएको थियो । ‘आज त शुभारम्भ मात्र हो, यो हामी उत्पादनसँग जोडिने कार्यक्रम हो । पार्टीको मात्र नभएर गैरपार्टीको जो कोही पनि जोडिनसक्नुहुन्छ । गैरपार्टीका मानिसहरु पनि यो कार्यक्रममा जोडिनुभएको छ,’ संयोजक तेम्बेले भने,‘यो सन्देश सबै नेपालीहरुरुमा पुगोस्, पार्टीभित्रका साथीहरुले त बुझ्नै पर्छ, पार्टी बाहिरकाले पनि उत्पादनसँग जोडिनुपर्छ भन्ने बुझ्नुपर्छ ।’

santosh limbu

पार्टी र सिद्धान्त भन्दा माथि उठेर सबै नेपालीलाई उत्पादनमुलक काममा जोड्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए । यद्यपी पार्टीको नगर नेतृत्वबाट धन्यवाद र साथको अपेक्षा गरिएपनि विपरीत प्रतिक्रिया पाएकोमा उनले असन्तुष्टी पनि पोखे । ‘वडा कमिटी अध्यक्षलाई फोन गरेर टिप्पणी गर्ने काम भएको छ । यो त उत्पादनसँग जोडिने राम्रो काम हो, त्यसो नगरिदिनुस्,’ उनले आग्रह गर्दै भने,‘पार्टीले गरेको अभियान भएपनि यहाँ वडा १९ बासीको हैसियतले मात्र हामी सबै जोडिएका छौं, पार्टी हैसियतकोरुपमा होइन ।’

माओवादी पार्टी वडा वडा १९ कमिटी अध्यक्ष ललित लिम्बुले पनि पार्टीमा आवद्ध भएका र नभएका जो कोहीलाई उत्पादनसँग जोड्न समुहमा आवद्ध गर्ने बताए । ‘अहिले पनि पार्टीभित्रका र बाहिर रहनुभएकाहरु पनि जोडिनुभएको छ, हाम्रो उद्देश्य उत्पादनसँग जोड्नु हो,’ उनले प्रष्ट्याउदै भने, ‘वडा कमिटीले पार्टीको माथिल्लो कमिटीमा रहेका नेताहरुलाई परिचालन गर्यो भन्ने बुझाई पनि ठिक होइन । उहाँहरु वडा १९ बासी भएकोले जिम्मेवारी दिएका हौं ।’ उत्पादन भएपछि आधा बिक्री गरेर लगानी र खर्च व्यहोर्ने र आधा दामासाहीले वितरण गर्ने निर्णय भएको पनि उनले बताए ।

माओवादी वडा नं १९ ले यसअघि साप्ताहिकरुपमा सरसफाई अभियान, वीपी प्रतिष्ठान जाने बन्द रहेको दक्षिण पुर्वी गेट खोल्ने, वीपीको सेवा सुधार, विद्युत पोल निर्माणलगायतको अभियानहरु पनि गर्दै आइरहेको छ । 

भिडियो: