धरान: राधाकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सवको अवसरमा शुक्रबार नवर्निमित धर्मशालाको उद्घाटन गरिएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले धरान ८ धनकुटे रोडस्थित प्रणामी मन्दिरसँगै नवनिर्मित धर्मशालाको उद्घाटन गरेका हुन् । यसैगरि, मन्दिरमा ब्रह्मलीन बाबाजी श्री १०८ गोपी दासको स्मृतिमा निर्मित गोपी स्मारक ध्यान साधनालयको समेत उद्घाटन गरिएको थियो ।

मन्दिर स्थापना भएको ५० बर्ष पुगेको अवसरमा १६ कोठे धर्मशाला निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । एक कट्ठा जग्गामा निर्माण गरिएको धर्मशाला सवा ३ करोड लागतमा बनेको समितिका अध्यक्ष नेत्रप्रसाद आचार्यले जानकारी दिए । 

ram chandra poudel

उक्त धर्मशालामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि धरान आउने बिरामी, कुरुवा र गरिब तथा असहायलाई निःशुल्क कोठा उपलब्ध गराइनेछ । यस्तै खाना पकाउन आवश्यक पर्ने ग्याँस, भाडालगायत सामग्री पनि उपलब्ध गराइने समितिको भनाई छ ।  

राष्ट्रपतिमा निवार्चित भएपछि पौडेल पहिलो पटक धरान आएका हुन् । राष्ट्रपति पौडेल आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो भने कार्यक्रम अवधिभर प्रणामी मन्दिर हुदै धनकुटे रोडमा सवारी आवागमन बन्द गरेर डाइभर्ट गरिएको थियो । 

pranami2

उद्घाटन पश्चात आयोजित बिशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मानव सेवाको भावनाले देश र समाजमा सहिष्णुता बढाउन सहयोग पुग्ने बताए ।  जुनसुकै धर्म, सम्प्रदाय भएपनि सबैको लक्ष्य मानव सेवा भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने, 'हरेक धर्म, सम्प्रदायलाई यहीरुपमा बुझ्नसके देश र समाजमा सहिष्णुता बढाउन मद्दत पुग्छ ।' विश्वमा भौतिक विकासको चाहना र होडबाजीले शान्ति सुव्यवस्था, आपसी सद्भावको भावना खस्किँदै गएको राष्ट्रपति पौडेलको भनाई थियो । 

समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले धरानको खानेपानी समस्यामा अति राजनीति भइरहेको उल्लेख गर्दै राष्ट्रपतिको पनि ध्यानाकर्षण गराएका थिए । समारोहलाई प्रणामी सम्प्रदायका जगद्गुरु श्रीकृष्णमणी महाराजले पनि सम्बोधन गरेका थिए । 

pranami1