धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीसहित सम्पुर्ण शिक्षक तथा कर्मचारीहरुले मेयर हर्कराज राई (साम्पाङ)ले रजिष्ट्रार प्रा.डा.सुर्यप्रसाद संग्रौलालाई गरेको व्यवहार र अभिव्यक्तिप्रति खेद तथा निन्दा प्रकट गरेका छन् ।
हिजो (बिहिबार) प्रतिष्ठानको मुलगेट पश्चिमको ग्रिनबेल्ट क्षेत्रमा तरकारी बजारको लागि शिलान्यास कार्यक्रम रोक्न अनुरोध गर्न पुगेका रजिष्ट्रारलाई मेयर साम्पाङले आफुसँग कुरा गर्ने हैसियत नभएको र मन्त्रीसँग मात्र कुरा गर्ने भन्दै फर्काएका थिए । यो घटनापछि आज प्रतिष्ठानको पदाधिकारीहरु, सिनेट सदस्य, डिनहरु, विभिन्न कलेजका प्रमुखहरु, विभागीय प्रमुखहरु, महाशाखा, शाखा प्रमुखहरुसँगै शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजका प्रतिनिधिहरुको बैठक भएको थियो ।
उक्त बैठकले प्रतिष्ठानको सिनेट सदस्यसमेत रहेको नगर प्रमुखबाट अर्को सिनेट सदस्य तथा पुर्णकालिन एक पदाधिकारीलाई जिम्मेवारीपुर्ण व्यवहार नगरेको ठहर गरेको पनि प्रतिष्ठानले जनाएको छ । साथै, बैठकले समग्र प्रतिष्ठान एक ढिक्का भई खेद तथा निन्दा प्रकट गर्ने निर्णय भएको पनि प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.संग्रौलाद्धारा आज शुक्रबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाल सरकारबाट प्रतिष्ठानको नाममा नामसारी भई हालसम्म आफ्नो स्वामित्वमा रहेको प्रतिष्ठानको उक्त भु क्षेत्रमा हुने कुनै पनि प्रकारको हस्तक्षेप एवं अतिक्रमण नसहने र त्यसको विरुद्धमा प्रतष्ठिान परिवार एकढिक्का भई आफ्नो संस्थागत अस्तित्वको लागि कानुनी उपचारमा जानुपर्ने सहमति भएको पनि विज्ञप्तीमा खुलाइएको छ ।
यद्यपी दुवै संस्था सार्वजनिक सरोकारको संस्था भएकोले आपसी छलफल तथा अन्तक्रिया र संवादबाट नै समस्याको समाधान निस्कने भन्दै प्रतिष्ठानले शिलान्यास भएको बिषयलाई यथास्थितिमा राखेर पुनः संवाद र वार्ताको माध्यमबाट समस्या समाधानको लागि प्रतिष्ठानले अपिलसमेत गरेको छ।