धरान: स्ववियु चुनाव अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस धरानमा अनेरास्ववियु र नेविसंघको गठबन्धनबाट सभापति उम्मेदवार प्रशान राईको जित सुनिश्चित भएको छ ।
पछिल्लो मतगणनाको परिणाम अनुसार १५७३ मत गणना सकिदा प्रशान निकटतम प्रतिद्वन्दी समाजवादी विद्यार्थी युनियनका युवराज राई भन्दा ५६० मतले अगाडी छन् । प्रशानले १००५ मत पाउँदा युवराजले ४४५ मत मात्रै पाएका छन् । अब खसेको मतमा ५७७ मत मात्रै गणना हुन बाकी छ ।
मंगलबार भएको मतदानमा २१५० मत खसेको थियो । अब गन्न बाकी रहेको ५७७ मत सबै एकोहोरो युवराजले पाए मात्रै परिणाम उल्टिन सक्छ, जुन कुराको सम्भावना छैन । अखिल क्रान्तिकारीका उम्मेदवार तेजबहादुर राईले ७६ मत पाएका छन् ।
महेन्द्र क्याम्पसमा सभापतिसहित प्यानलमै अनेरास्ववियु र नेविसंघ गठबन्धन अग्रता कायम गरेको छ । सचिवमा पनि गठबन्धनबाटै पवन बस्नेत ९६२ मतका साथ अग्रतामा छन् भने कोषाध्यक्षमा पनि गठबन्धन उम्मेदवार आलोक लिम्बु १०२४ मत पाएर अगाडि छन् ।
सचिवमा समाजवादी उम्मेदवार विनिता लिम्बूले ४७८ मत पाएर गठबन्धन उम्मेदवारलाई पछ्याउँदै छिन् भने कोषाध्यक्षमा समाजवादीका जितेन दुमी राई ३९३ मतले पछ्याइरहेका छन् ।