धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कपमा सोमबारको दोस्रो तथा अन्तिम सेमीफाइनल खेल निक्कै तनावपुर्ण रह्यो ।
पहिलो पटक रात्रीकालिन प्रतियोगिता आयोजना हुँदा पहिलो सेमीफाइनल सकिदासम्म आयोजकले कुनै अप्रिय घटनाको सामना गर्नुपरेन, जति सोमबारको खेलमा उत्पन्न समस्यालाई समाधान गर्न सकस व्यहोर्नुपर्यो । नाटकीय मोड लिएको तनावपुर्ण खेलमा एक पटकको उपाधि विजेता वडा १४ ले चार पटकको च्याम्पियन वडा १७ लाई ३–२ गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।
खेलमा रेफ्रीको निर्णयप्रति खेलाडीहरुको असन्तुष्टी रहनु स्वभाविक हुन्छ, तर सोमबार रेफ्रीले विपक्षी टिमलाई पेनाल्टी दिएपछि वडा १४ का खेलाडीहरुले बबाल मच्चाए । खेलाडी रेफ्रीमाथि जाईलागे, र आधा घण्टाभन्दा बढी समय खेल अवरुद्ध भयो ।
वडा १४ ले फल गरेपनि रेफ्रीले वडा १७ लाई पेनाल्टी प्रहार गर्ने निर्णय दिए । तर वडा १४ का खेलाडीहरुले तीब्र असन्तुष्टी र आक्रोश जनाउदै खेल्न छोडे । रेफ्रीले आफ्नो निर्णयमा अडिग रहदै पेनाल्टी हान्न वडा १७ का खेलाडीलाई बोलाए, तर वडा १४ का गोलकिपर पोष्टमा गएनन् । खेल सुचारु हुने छनक नदेखेपछि प्याराफिटमा खचाखच भरिएका दर्शकबाट हुटिङ भयो, र आयोजकविरुद्ध नारासमेत लाग्यो ।
रेफ्री तथा अफिसियललाई आफ्नो निर्णय फेर्न सम्भव थिएन । वडा १४ का खेलाडीहरु पेनाल्टी हान्न दिने हो भने खेल सुचारु हुन नदिने मनस्थिति बनाएपछि आयोजक गोधुली क्लबका पदाधिकारीहरु मैदानमा प्रवेश गरेर हस्तक्षेप गर्नुपर्यो । उपाध्यक्ष सतिस केसी आफै मैदानमा पुगेर शुरुमा वडा १७ को टिमसँग कुरा गरे । त्यसपछि वडा १४ र अफिसियलसँग समन्वय गरेर खेल सुचारु हुने वातावरण बनाए ।
समझदारी थियो, वडा १७ ले पेनाल्टी हान्ने, तर गोल नगर्ने । उक्त समझदारीपछि ३३ मिनेट थप गर्दै खेल सुचारु भयो । वडा १७ का खेलाडीले समझदारीलाई इमान्दारिताका साथ पालना गर्दै पेनाल्टीमा गोल गरेनन्, वडा १४ का गोलकिपरलाई पास दिए । वडा १७ का खेलाडीहरु आयोजक क्लबको वडा भएकोले पनि खेल सुचारु गर्नुपर्ने दबाबमा परेको थियो । क्लबको आग्रहलाई वडा १७ का खेलाडीहरुले स्वीकार गर्दै पेनाल्टीमा गोल गर्ने अवसरलाई त्याग गर्न बाध्य भए । यद्यपी, वडा १७ को टिमका अफिसियलहरुले खेल सकिएपछि मैदानबाहिर आयोजक क्लबसँग त्यसबारे चर्को असन्तुष्टी र आक्रोश पोखेका थिए ।
पहिलो हाफमा ३३ मिनेट समय थपिएपछि खेलको ५५ औं मिनेटमा वडा नं १७ ले गोल गर्दै खेलमा अग्रता लिएको थियो । तर, ५५ औं मिनेटमा वडा १४ का विवेक राईले गोल गर्दै खेल बराबरी बनाए भने ६५ औं मिनेटमा निमेश तामाङले गोल गर्दै पहिलो हाफमा वडा १४ लाई २–१ को अग्रता दिलाएका थिए ।
दोस्रो हाफको ३४ औं मिनेटमा वडा १७ का सुशिल राईले गोल गर्दै खेल २–२ को बराबरी बनाएका थिए । तर, ३७ औं मिनेटमा वडा १४ का निशम राईले निर्णायक गोल गर्दे वडा १४ लाई ३–२ गोलअन्तरले जित दिलाएपछि फाइनल यात्रा तय भयो । खेलको म्यान अफ दि म्याच वडा १४ का विवेक राई घोषित भए । अब बुधबार हुने फाइनल खेलमा वडा १४ र वडा १५ बीच उपाधि भिडन्त हुनेछ ।
भिडियो