धरान: किरात राई पत्रकार संघ नेपालको १६ औं स्थापना दिवसको अवसरमा सुनसरीमा कार्यरत २ पत्रकार पुरस्कृत भएका छन् । 

संघको सुनसरी शाखाले आइतबार स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदनप्रदान तथा पुरस्कार वितरण कार्यक्रममा २ जना पत्रकारलाई पुरस्कृत गरेको हो । संघले विद्या कुमारी राई स्मृति सृर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकार सञ्जिव कोयी राईलाई पुरस्कृत गरेको हो । 

हिमाली सञ्चारका सम्पादक राईलाई नगद ४ हजार रुपैयासहित सम्मान पत्र प्रदान गरिएको थियो । धरान निवासी राई उपचारको क्रममा राजधानीमा छन् । उनको पुरस्कार तथा सम्मान पत्र आफन्तले ग्रहण गरेका थिए । यो पुरस्कार स्वर्गीय आमा विद्याकुमारी राईको स्मृतिमा छोरा कुमार राईले स्थापना गरिदिएका हुन् । 

यसैगरि, संघले चन्द्रकला राई स्मृति पत्रकारिता सम्मान नेपाल टेलिभिजन इटहरीमा कार्यरत पत्रकार प्रर्मिला वान्तवा राईलाई प्रदान गरेको छ । उनलाई नगद ५ हजार, सम्मान पत्र प्रदान गरिएको थियो । यो पुरकार किरात राई यायोक्खा वडा १३ प्रारम्भिक कार्यसमितिका अध्यक्ष श्रीपाल राईले आफ्नी स्वर्गीय श्रीमति चन्द्रकला राईको स्मृतिमा स्थापना गरिदिएका हुन् । 

kirapa1

पत्रकार सञ्जिव कोयी राई (इन्सेट)को पुरस्कार ग्रहण गर्दै उनका आफन्त ।

पुरस्कृत पत्रकारहरुलाई आयोजक संघका अध्यक्ष वसन्त वान्तावा राई, प्रमुख अतिथि एवं संघका केन्द्रीय उपाध्यक्ष विशाल राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, फोनिज सुनसरीका उपाध्यक्ष सुनिल चौधरी र दाताहरुले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा अतिथि वक्ताहरुले पहिचानको एजेण्डा, आदिबासी जनजातिको एजेण्डाहरुमा पनि कलम चलाउनुपर्ने धारणा राखेका थिए । साथै, उनीहरुले पत्रकारिताका नयाँ पुस्तालाई सहीरुपमा मार्गदर्शन गर्नुपर्ने पनि बताए । 

kirapa2


कार्यक्रमलाई प्रमुख अतिथि एवं संघका केन्द्रीय उपाध्यक्ष विशाल राई, पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋर्षि राई, यायोक्खा सुनसरीका कोषाध्यक्ष उपेन्द्र चाम्लिङ, फोनिज सुसनरीका उपाध्यक्ष सुनिल चौधरी, प्रेस सेन्टरका अध्यक्ष तीर्थ कार्की, पुरस्कृतकोतर्फबाट प्रर्मिला वान्तवा राई, पुरस्कार संस्थापकको तर्फबाट श्रीपाल राईले मन्तव्य व्यक्त गरेका थिए । आयोजक संघका अध्यक्ष वसन्त वान्तवाले दाताहरुसँग समन्वय गरेर अक्षष कोष स्थापना गर्ने र पुरस्कारलाई दिगो बनाउने बताए ।