धरान: धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको फाइनलमा आयोजक धरान मेघा ए र होलिल्याण्ड स्कुलबीच उपाधि भिडन्त हुने भएको छ ।
बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक धरान मेघा ए टिमले सियोन स्कुललाई ५१-३९ अंकले पराजित गर्दै फाइनल प्रवेश गर्यो । प्रतिस्पर्धात्मक खेलको पहिलो क्वाटरमा सियोन स्कुल ८-४ अंकले अघि रहेपनि दोस्रो, तेस्रो र चौथो क्वाटरमा धरान मेघा कलेज १४-११, १३-११ र २०-९ स्कोरले अग्रता लिदै फाइनल यात्रा तय गर्यो ।
दोस्रो सेमिफाइनल खेलमा होलिल्याण्ड स्कुलले टावर टेम्पल स्कुल झापालाई ५९-३७ अंकको अन्तरले जित निकाल्दै आयोजकसँग फाइनलमा भेट पक्का गर्यो । होलिल्याण्ड र टावर टेम्पलले प्रत्येक क्वाटरमा १४–६, ४–१४, २०–५ र २१–१२ अंक जोडेको थियो ।
कक्षा १२ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने प्रतियोगितामा १४ टिम सहभागी भएको थियो । प्रतियोगिताको विजेता टिमले नगद २५ हजार रउपविजेताले नगद १२ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडी, मोस्ट भ्यालुएवल प्लेयर र उदयीमान खेलाडीले नगद पुरस्कारका साथमा ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।
धरान मेघा कलेजको आयोजना, धरान बास्केटबल संघ, सुनसरी बास्केटबल संघ र रेवाहाङ रुछेन्बुङ राई स्मृती प्रतिष्ठानको बिशेष सहयोगमा प्रतियोगिता भएको हो । फाइनल खेल शुक्रवार बिहान ८ बजे धरान मेघा कलेजको बास्केटबल कोर्टमा हुने छ ।