धरान: महिलाहरुलाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने उद्देश्य रहेको महिला सीप विकास तालिम केन्द्रको धरानमा शाखा कार्यालय उद्घाटन भएको छ।
धरान ८ स्थित लांघाली चोकमा शाखा कार्यालयको एक समारोहबीच शनिबार कोशी प्रदेशसभा सदस्य मीना श्रेष्ठले रिबन काटेर उद्घाटन गरेकी थिइन् । इटहरीमा केन्द्रीय कार्यालय रहेको तालिम केन्द्रको पहिलो शाखा धरानमा विस्तार भएको संस्थापक एवं सञ्चालिका राधिका कार्कीले जानकारी दिइन् । केन्द्रले महिलाहरुलाई आर्थिकरुपमा सवल बनाउन विभिन्न सीपमुलक तालिमहरु दिदै आइरहेको उनले बताइन् । साथै, महिलाहरुको स्वास्थ्य र शिक्षाको क्षेत्रमा पनि केन्द्रले कार्यहरु गर्दै आइरहेको उनको भनाई थियो ।
उद्घाटन समारोहकी प्रमुख अतिथि एवं प्रदेश सांसद श्रेष्ठले केन्द्रले महिलाहरुलाई उद्यमशील बनाउने अपेक्षा व्यक्त गरिन् । साथै उनले आफ्नो घरपरिवारलाई व्यवस्थापन गर्दे सामाजिक कार्यमा महिलाहरु अघि बढ्नुपर्ने बताइन् ।
‘महिलाहरुलाई उममशील, रोजगारमुलुक बनाउनोस्, उद्यमी बनाउन केन्द्रले नेतृत्व गरोस्,’उनले सुझाव दिदै भनिन्,‘महिलाहरुले पहिला आफ्नो घर, परिवारलाई व्यवस्थित गर्दै समाजमा बाहिर आउनुपर्छ । महिलाहरुको भोगाई बाहिरबाट देखेजस्तो हुदैन।’
केन्द्रको धरान फोकल पर्सन सुनिता श्रेष्ठकाृे प्रशंसा गर्दै सांसद श्रेष्ठले आफ्नो तहबाट सहयोग गर्ने प्रतिवद्धता पनि जनाइन् । उनले भनिन्,‘संस्थालाई आवश्यक पर्ने तालिम, प्रशिक्षण दिन मेरो सहयोग हुनेछ ।’
कार्यक्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.समिक्षा पौडेल र डा.अस्मिता श्रेष्ठले स्तन क्यान्सर र पाठेघर क्यान्सर सम्बन्धी सचेतनामुलक जानकारी दिएका थिए ।