धरान : डिफेन्डिङ च्याम्पियन न्युरोड टिम (एनआरटी) उपाधी रक्षा गरेको छ ।

धरान १६ स्थित रंगशालमा शनिबार भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधीमा जोगाएको हो । यो जित सङ्गै बुढासुब्बामा एनआरटी तेस्रो पटक च्याम्पियन बनेको छ । यसअघि एनआरटीले बुढासुब्बाको १० औं र २४ औं संस्करणको उपाधी जितेको थियो ।       

प्रतिष्पर्धात्मक खेलको २४ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो । रोहन कार्कीले प्रहार गरेको फ्रिकिकमा तामाङले हेडमार्फत गोल गरेका थिए । लगत्तै एनआरटीले २७ औं मिनेटमा गोल गर्दै खेल बराबरी बनाए । रोबर्टले कर्नर प्रहार गरेको वल क्लियर नहुदाको मौकामा हेनरी पोकोले गोल गरेका थिए । हेनरीले नै ५८ औं मिनेटमा खेलको निर्णायक गोल गरेपछि चर्च ब्वाईज  पहिलो पटक उपाधि चुम्ने धोको अधुरै रह्यो ।

विजेता एनआरटीले उपाधी ट्रफीसङ्गै नगद १० लाख हात पार्यो भने उपविजेता चर्च ब्वाइजले नगद ५ लाख पुरस्कार हात पार्यो । फाइनल खेलको म्यान अफ द म्याच एनआरटीका हेनरी पोको घोषित नगद १० हजार पाए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका शिशिर लेखी घोषित हुँदै नगद एकलाख पुरस्कार पाए । समान ३ गोल गरेर हाइ स्कोर पुरस्कर चर्चब्वाइजका खेलाडीद्वय समिर तामाङ र अर्माण्ड भिदोंङले पाए । उनीहरुले नगद ३५ हजार पुरस्कार बाडे ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर एनआरटीका प्रमिजय गच्छदार, उत्कृष्ट प्रशिक्षक एनआरटीका हरिओम श्रेष्ठ, उत्कृष्ट फरवार्ड चर्च ब्वाइजका समिर तामाङ, उत्कृष्ट डिफेन्डर चर्च ब्वाइजका पदम भट्टराई, उत्कृष्ट मिडफिल्डर चर्च ब्वाइजका रोहन कार्की घोषित भए । उनीहरुले जनही नगद २५ हजार पुरस्कर पाए ।