धरान : किरात नया वर्ष यले दोङ ५०८५ ( यलम्वर संवत ) को अवसरमा आयोजित चौथो यले दोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटवल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने भएको छ ।

धरान बास्केटवल संघको अयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा किरात राई यायोक्खाको सहयोगमा माघ २८ गते हुने एक दिने प्रतियोगितामा महिला ७ टिम र पुरुष २३ टिमले सहभागिता जनाउने भएको हो । प्रतियोगितामा धरान, तरहरा, मोरङ, झापा लगायत जिल्ला तथा धरान आसपास क्षेत्रका बास्केटवल टिमले सहभागिता जनाएको छ । 

प्रतियोगिताको खेल तालिका सहभागि टिमका प्रतिनिधिहरुको उपस्थितिमा आइतवार किरात राई यायोक्खा सुनसरीको सभाहलमा तयार पारिएको छ । उद्धघाटन खेल झुनाज फिटनेस र सप्तरङ्गी बास्केटवल टिम ए विच हुनेछ । 

प्रतियोगिताका विजेताले पुरुष तर्फ नगद ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरि महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका महिला-पुरुष उत्कृष्ट खेलाडि (मोस्ट भ्यालुएवल प्लेयर) उपाधि विजेताले जनही नगद २ हजार ५ सय सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन्।

किरातिहरुको नयाँ बर्ष यलम्बर सम्बत माघ १ गतेदेखि सुरु हुने गर्दछ । यो बर्ष किराँती नयाँ बर्ष यले दोङ यले संवत ५०८५ सुरु भैसकेको छ । किराति नया वर्षलाई भव्यरुपमा मनाउन धरान भानुचौकको खुल्ला स्थानमा एक दिने बास्केटवल प्रतियोगिता आयोजना हुन लागेको हो । गत बर्ष पुरुष तर्फ व्रदस क्लव र महिला तर्फ धरान मेघा हिमालयन कलेज विजेता बनेको थियो ।

प्रतियोगिता किरात राई यायोक्खा सुनसरीको सहकार्यमा धरान बास्केटवल संघको आयोजना, धरान उपमहानगरपालिकाको संयोजन तथा सुनसरी बास्केटवल संघको प्राविधिक सहयोगमा हुन लागेको हो ।