धरान: कोशी प्रदेश प्रिमियर लिगमा सुपर लिगको खेल तालिका सार्वजनिक गरिएको छ ।
आयोजक कोशी प्रदेश फुटबल संघले शनिबार धरान रंगशालामा पत्रकार सम्मेलन गर्दै सुपर लिगको खेल तालिका सार्वजनिक गरेको हो । आयोजक संघका अध्यक्ष किशोर राईले खेल तालिका सार्वजनिक गरेका थिए ।
चार समुहमा पहिलो चरणको लिग खेलाइएको थियो । अंकको आधारमा समुह ए बाट पाँचथरको पाँचथर युनाइटेड, समूह बी बाट उदयपुरको गाईघाट फुटबल क्लब, समूह सि बाट धनकुटाको देउराली युथ क्लब र डि बाट खोटाङको बुइपा–११ सुपरलिगमा प्रवेश गरेको पनि अध्यक्ष राईले जानकारी दिए ।
सुपर लिगको पहिलो खेल फागुन ४ गते बुइपा–११ र पाँचथर युनाइटेड बीच हुनेछ भने सोही दिन दोस्रो खेल गाईघाट र देउरालीबीच हुनेछ । यस्तै, ६ गते बुइपा र गाईघाट बिहान स्पर्धा गर्नेछ भने दिउसो पाँचथर र देउरालीबीच खेल हुनेछ । यसैगरी, ८ गते विहान पाँचथर र गाईघाट खेल्नेछ भने दिउसो बुइपा र देउरालीबीच खेल हुनेछ ।
लिग विजेताले २ लाख, उपविजेताले १ लाख ५० हजार, तेस्रो हुने टिमले १ लाख २५ हजार र चौथो हुने टिमले १ लाख नगद पुरस्कार प्राप्त गर्नेछ । लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्न छनौट हुनेछन् ।
धरान रंगशालामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरुको सहभागीता रहेको छ ।