धरान: मुक्कुमलुङ पाथीभारामा नो केवलकार भन्दै आन्दोलनरत पक्षले धरानमा केवलकार पक्षका एक व्यक्तिलाई कालोमोसो दलेर हातपातसमेत गरेका छन् ।

आइतबार याक्थुङ चुम्लुङको पत्रकार सम्मेलन भैरहेको स्थान धरानस्थित एच के मेलोडीमा पदम चेम्जी मावोलाई कालोमोसो दल्नुका साथै हातपात भएको हो । मावो याक्थुङ चुम्लुङका नवनिर्वाचित उपाध्यक्षकोरुपमा पत्रकार सम्मेलनमा उपस्थित थिए । उनी मुक्कुमलुङमा केवलकार बन्नुपर्छ भन्ने पक्षको भएको र सामाजिक संजालमा नो केवलकार पक्षलाई आलोचना गर्ने गरेको आरोप आन्दोलनरत पक्षको छ ।

नो केवलकार समुहका युवा नेता शिवहाङ राईका अनुसार पत्रकार सम्मेलन गर्ने सस्थासङ्ग आफुहरुको सरोकार नभएको तर मावोको उपस्थिती भएकोले उनलाई खबरदारी गर्न पुगेको बताए । पत्रकार सम्मेलन सकेपछि उनलाई आक्रोशित भिडले कालोमोसो दलेको पनि राईले बताए । विगतको आफ्नो अभिव्यक्ति प्रति मावोले माफी मागेको उनले दावी पनि गरे ।

घटनाको बिषयमा मावो र याक्थुङ चुम्लुङ सस्थाका नेतृत्वसङ्ग फोन सम्पर्क गर्ने प्रयास सफल हुन सकेन । घटनाको प्रत्यक्षदर्शी पत्रकार दिलबहादुर राईका अनुसार सस्थाको नयाँ कार्यसमितिको नामावली सार्वजनिक लगायतको विषयमा पत्रकार सम्मेलन भैरहेको बेला नो केवलकार समूह एक्कासी आइपुगेका थिए । समान्य विवाद भएपछि पत्रकार सम्मेलन सकिए लगत्तै नो केवलकार पक्षले मोसो दलेको उनले जानकारी दिए ।

उक्त घटनाको भिडियो सामाजिक सन्जालमा भाइरल भैरहेको छ । मावोलाई केही व्यक्तिहरुले मोसो दलेको र आक्रोश व्यक्त गर्दै हातपात गर्न खोजेको देखिन्छ भने आन्दोलनका अगुवा अमर इजमले हातपात हुनबाट रोक्न प्रयास गरेको देखिन्छ । अहिले घटनास्थलमा प्रहरी आएर सोधपुछ गरिरहेको पनि पत्रकार राईले जानकारी दिए ।