धरान: प्रथम, दोस्रो विश्व युद्धसँगै विभिन्न युद्धहरुमा ज्यान गुमाएका वीर गोर्खा सैनिकहरुको सम्मान र स्मृतिमा आयोजना हुने गोर्खा ट्रेल ब्लेजर रनको तेस्रो सँस्करण आगामी चैत २ गते हुने भएको छ । 

आयोजक गोर्खा सिमेट्रीज ट्रष्ट नेपालले आइतबार धरान १८ स्थित एमसि क्याफेमा पत्रकार सम्मेलन गर्दै तेस्रो सँस्करण चैत २ गते आयोजना गर्ने जानकारी दिएको हो । पुर्खा दिवसको अवसर पारेर दौड र सम्मान कार्यक्रम गर्ने आयोजक ट्रष्टका अध्यक्ष महेन्द्र राईले जानकारी दिए । उनका अनुसार विगतमा झैं धरान १८ स्थित रत्नचोकबाट वडा नं २० स्थित गोर्खा स्मृति पार्कसम्म दौड हुनेछ । यो दौडको दुरी १० किलोमिटर रहेको छ । 

दौडमा करिब ६ जनाको संख्यामा सहभागिता हुनेछ । प्रतियोगितामा महिला र पुरुष दुवैतर्फका पहिलो, दोस्रो र तेस्रो विजेताले क्रमशः जनही नगद २० हजार, १० हजार र ५ हजार, मेडल र प्रमाण पत्र पाउनेछन् । साथै, दौडमा प्रथम हुने महिला र पुरुषलाई आगामी बर्ष सन् २०२६ मा हङकङमा हुने गोर्खा ट्रेल ब्लेजर रनमा सहभागिता जनाउने अवसर पनि दिइने अध्यक्ष राईले बताए । तर, यो अवसर नेपाली नागरिक अनिवार्य हुनुपर्ने पनि उनले बताए ।

trail blazer1

गोर्खा स्मृति पार्कमा हुने समापन समारोहमा दोस्रो विश्वयुद्ध लडेका खोटाङ जन्तेढुंगाका (हाल उदयपुर बेल्टार निवासी) १०२ बर्षीय भूपू ब्रिटिश सैनिक दलबहादुर राईलाई सम्मान गरिनेछ । यस्तै, यो बर्षदेखि धरानको ऐतिहासिक चोक रत्न चोक निवासी ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिने आयोजकले जानकारी दिएको छ । आयोजकले बर्षेनी विश्वयुद्ध वा अन्य युद्ध लडेका जीवीत भूपू सैनिकहरुलाई सम्मान गर्दै आइरहेको छ । गत बर्ष पनि भोजपुरको टेम्के मैयुङ गाउँपालिका निवासी १०२ बर्षीय पुर्वब्रिटिश आर्मी इन्द्रबहादुर राईलाई सम्मान गरेको थियो । 

ट्रष्टले अप्रिल ५ लाई पुर्खा दिवस मान्दै आएको छ । सन् २०२३ देखि धरान वडा नं १८ कार्यालयसँग सहकार्य गरि ट्रष्टले गोर्खा ट्रेल ब्लेजर रनको शुरुवात गरेको थियो । पुर्खा दिवसको अवसरमा हङकङमा पनि ट्रेल ब्लेजर दौड प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । हङकङमा यो बर्ष १ मार्चमा दौड हुनेछ । 

trail blazer2

विश्व शान्तिको लागि युद्ध लडेका भूपू सैनिकहरुलाई सम्मानपुर्वक हेरिनुपर्छ भन्ने उद्देश्यले ट्रष्टले कार्यक्रम आयोजना गर्दै आएको सदस्य एवं सञ्चारकर्मी विकास चाम्लिङ राईले बताए । उनले यो कार्यक्रममा भूपू सैनिक तथा परिवारजनहरुलाई पनि जोड्ने प्रयास भइरहेको जानकारी दिए । 

वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)को प्रमुख आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा धरान हङकङ मञ्चका सचिव रमेश राईले प्रतियोगिताको लागि व्यक्तिगतरुपमा आर्थिक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका थिए । पत्रकार सम्मेलनमा कार्यक्रमको टि सर्ट पनि सार्वजनिक गरिएको थियो ।