धरान : मोटरसाइकलमा लागुऔषध गाजा ओसारपसारमा संलग्न एक पक्राउ परेका छन् भने चालक फरार भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धरान ८ तीनकुने चोकस्थित स्थायी प्रहरी चौकीबाट भित्री सडकखण्डमा खटिएको टोलीले २९ केजी गाजासहित एक व्यक्ति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनकुटा सहिदभुमी गाउँपालिका २ का २१ बर्षीय सुरेश शिवा रहेका छन् । उनी बा ८३ प २९०४ नम्बरको २२० सिसि पल्सर मोटरसाइकलमा पछाडि सवार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी गस्ती टोलीले धरानबाट ईटहरी तर्फ जादै गरेको मोटरसाईकललाई रोकेर चेकजाँच गर्न खोज्दा नरोकी भागेको थियो । प्रहरीले पछ्याउँदै जाने क्रममा सेउती पुल छेउमा उक्त मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा लडेको अवस्थामा भेटेको प्रहरीको भनाई छ । 

मोटरसाईकल चालक भने फरार रहेकोको पक्राउ गर्न नसकेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका सुरेश मोटरसाइकलमा पछाडी सवार रहेको र उनको साथमा रहेको २ वटा जेब्रा झोलाहरु चेकजाँच गर्दा सेतो प्लाष्टिकले प्याक गरेको अबस्थामा लागूऔषध गाँजा २९ केजी फेला पारेको सुनसरी प्रहरीले जनाएको छ ।

हाल सुरेश शिवा र मोटरसाईकल नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान कार्य गरिरहेको र फरार चालकको खोजी कार्य समेत भइरहेको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।