धरान: धरान वडा नं १८ बुद्धचोकस्थित फलफुल पसलमा आगलागी भएको छ । 

निवर्तमान मेयर तिलक राईले भाडामा दिएको घरमा सञ्चालित पसलमा बिहिबार साँझ करिब पौने ७ बजे आगलागी भएको हो । आगलागीबाट फलफुल पसलमा २ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान रहेको प्रहरीले जनाएको छ । पसलमा रहेको फ्रिजमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । 

यो पसल उदय कुमारले सञ्चालन गर्दै आएका थिए । आफुले पसल बन्द गरेर गएको आधा घण्टापछि आगो लागेको खबर पाएर आएको उनले बताए । ‘पसल बन्द गरेर गएको आधा घण्टामा आगो लाग्यो भनेर अंकलले भन्नुभयो,’उनले भने,‘दोकानमा फलफुल थियो ।’ आगो नियन्त्रणमा आएपछि कोठा सरसफाई गर्ने क्रममा बोतल फुटेर उनी घाइते पनि भएका थिए । 

agolagi1

समयमा नै आगो नियन्त्रणमा लिइएकोले ठुलो क्षति नभएको स्थानीय एवं प्रत्यक्षदर्शीहरुले बताएका छन् । ‘एक्कासी लाइन गयो, र यहाँ धुवाँ निस्कियो, एकछिनमा सटरभित्र पड्कन थाल्यो,’स्थानीय एक महिलाले भनिन् । 

अर्का प्रत्यक्षदर्शी महिलाका अनुसार पसलको सटर बन्द भएको भएपनि दमकल आइपुग्नुभन्दा अघि नै स्थानीय आगो नियन्त्रणमा जुटेको बताइन् । ‘सटर बन्द थियो, तर अर्को ढोका फोडेरमा पानी हालेर आगो मार्यौं,’प्रत्यक्षदर्शी महिलाले भनिन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले आगो नियन्त्रणमा आइसकेको र ठुलो क्षति नभएको बताए । घर धनी निवर्तमान मेयर राईले पनि फलफुल पसलमा मात्र क्षति भएको बताए ।

भिडियो: