धरान: धरान ८ स्थित सुम्निमा बोर्डिङ स्कुलका विद्यार्थीहरुले खाजा खाने पैसा जोगाएर आश्रय लिएर बसेका आफुजस्तै विद्यार्थीहरुलाई नै सहयोग गरेका छन् ।

स्कुलका स्थापना भएको सुम्निमा बाल क्लबको चौथो स्थापना दिवस मनाउने क्रममा शनिबार विद्यार्थीहरुले धरान १३ स्थित इमानुयल चिल्ड्रेन होमका बालबालिकाहरुलाई सहयोग गरेका हुन् । बाल क्लबका विद्यार्थीहरुले उक्त चिल्ड्रेन होममा रहेका २२ जना विद्यार्थीहरुलाई बिहानको एक छाक खाना (मासुभात) खुवाएका थिए ।

बाल क्लबका अध्यक्ष सिम्रन भुजेलका अनुसार क्लबले स्कुलका सबै विद्यार्थी, शिक्षकहरुसँग समन्व्य गरेर खाजा खाने पैसा संकलन गरिएको थियो । ‘हामीले विद्यार्थी साथीभाई, टिचरलाई अनुरोध गरेर खाजाको पैसा जुम्मा गरेका थियौं, त्यही पैसाले खाना खुवाएका हौं,’उनले भनिन् ।

sumnima1 copy

सुम्निमा स्कुलकी कोअर्डिनेटर नम्रता तामाङले बाल क्लबले बर्षेनी खाजाको पैसा जोगाएर सहयोग गर्दै आइरहेको जानकारी दिइन् । विद्यार्थीहरुलाई नैतिक शिक्षा र व्यवहारिक ज्ञान दिलाउन सामाजिक कार्यहरुमा सहभागी गराएको पनि तामाङले बताइन् । ‘गतबर्ष छाताचोकस्थित पुर्नस्थापना गृहमा क्लबले खाना खुवाएको थियो,’उनले भनिन् ।

चिल्ड्रेन होमकी सञ्चालिका दिप्ती सुब्बाका अनुसार होममा अभिभावकविहिन बालबालिकाहरुलाई आश्रय दिएर राखिएको छ । उक्त होम २०५७ सालदेखि सञ्चालनमा आएको पनि उनले जानकारी दिइन् । चिल्ड्रेन होम अपायक ठाउँमा भएकोले धेरैलाई जानकारी नभएको र सहयोग पनि धेरै नपाएको उनले बताइन् । ‘मुठी दान र दाताहरुबाट नै चलाइरहेका छौं, तर हाम्रो पायक पर्ने ठाउँमा नभएकोले धेरैलाई जानकारी छैन, र सहयोग पनि कम नै आउछ,’उनले भनिन् ।

भिडियो: