धरान: फागु पुर्णिमा (होली) मनाउने क्रममा गैरकानुनी तथा अवाञ्छित क्रियाकलाप नगर्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बुधबार एक सुचना जारी गर्दै कसैको इच्छा विपरीत रंग लगाउने, प्लाष्टिजन्य लोला हान्ने, पानी तथा हिलो छ्याप्ने जस्ता कार्यहरु नगर्न आग्रह गरेको हो । प्रशासनले होलीको वहानामा नमेटिने रंग लगाउने, बाटोमा हिड्ने यात्रुहरुलाई दुःख दिने, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने एवं सेवन गरी सवारीसाधन चलाउने, विना हेल्मेट मोटरसाइकल चलाउने जस्ता गैरकानुनी कार्यहरु पनि नगर्न सुचनामार्फत आग्रह गरेको छ ।
मोटरसाइकलमा २ जना भन्दा धेरै सवार हुने, अपरिचितलाई जिस्काउने, सार्वजनिक स्थानहरुमा हो हल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउने आदि जस्ता गैरकानुनी एवं अवाञ्छित क्रियाकलापहरु तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्ने खालका कार्यहरु नगर्न/नगराउन पनि प्रशासनले आग्रह गरेको छ ।
‘कोही कसैले गैरकानुनी एवं अवाञ्छित गतिविधि र क्रियाकलाप गरे/गराएको पाइएमा त्यस्ता व्यक्तिहरुलाई प्रचलित कानुन वमोजिम कार्यवाही भई जाने व्यहोरासमेत जानकारीको लागि अनुरोध छ,’ सुचनामा उल्लेख छ ।