धरान: धार्मिक तथा साँस्कृतिक पर्यटकीय सहरको परिचय बनाएको धरानमा अर्को एउटा धार्मिक तथा पर्यटकीय आकर्षण थपिएको छ।
धरान ३ र १४ को सिमाना भृकुटी पाखामा अवस्थित त्रिरत्न बिहारमा १८ फिट अग्लो बुद्धको मुर्ति स्थापना गरिएको छ । यो एउटै ढुंगामा कुँदिएको मुर्ति हो । यसलाई काठमाण्डौं उपत्यकामा करिब २ बर्ष समय लगाएर तयार गरि धरान ल्याएको बिहारका अध्यक्ष देवरत्न शाक्यले जानकारी दिए । उक्त मुर्तिलाई मंगलबार राती क्रेनको सहयोगले बिहारमा राखिएको छ ।
एउटै ढुंगामा बनाइएको मुर्ति १५ टन वजनको छ । ‘यस्तो मुर्ति पुर्वमा अरु कही छैन, यही नै हो,’ अध्यक्ष शाक्यले भने । मुर्ति निर्माणको सम्पुर्ण खर्च एक जना दाताले गरेको तर नाम भने नखुलाउने सर्त रहेको पनि उनले बताए । ‘शुरुमा १९ लाखको कुरा थियो, पछि के कति खर्च भयो थाह भएन,’उनले भने,‘ढुवानी खर्च नै धेरै भएको छ ।’
विपश्याना ध्यानमा आएका साधनले नै इच्छा प्रकट गरेर मुर्ति बनाउन लगाएका हुन् । शुरुमा बुद्ध उभिएको पुर्णकदको मुर्ति बनाउन लगाएको तर उक्त मुर्ति स्थानीय वडाले नै राख्ने भएपनि अर्को बनाउन लगाएको पनि अध्यक्ष शाक्यले जानकारी दिए ।
त्रिरत्न बिहार २०७२ सालमा स्थापना भएको हो । कुल ४ कट्ठा क्षेत्रफलमा रहेको बिहारलाई शुरुमा अध्यक्ष शाक्यले नै एक कट्ठा जग्गा दान गरेका थिए । पछि ३ कट्ठा बिहारले खरिद गरेको हो । ‘बुद्धशिक्षा के हो भनेर बौद्ध भिक्षुहरुलाई नै राखेर प्रचारप्रसार गर्ने सोचले स्थापना गरेको हो,’ अध्यक्ष शाक्यले भने,‘वर्माबाट आएर भिक्षुहरु बस्नुभएको छ, उहाँहरुकै रेखदेखमा निर्माण कार्य पनि हुदैछ ।’
बिहारको रेखदेख गर्दै आएका भिक्षु आनन्दले दाताहरुबाट नै विहार सञ्चालन र भिक्षुहरुको जीविका चलिरहेको बताए । ‘हाम्रो जागिर, आम्दानी केही पनि हुदैन । हाम्रो जिविका नै श्रद्धालु दाताहरुबाट चलेको छ,’ उनले भने,‘ ध्यान साधना गरेर मनलाई सुद्ध बनाउने काम गरिरहेका हुन्छौं । यहाँ आउने श्रद्धालुहरुलाई पनि बिहान ४ बजेदेखि साँझसम्म भगवान बुद्धको सन्देश दिने गरेका छौं,’
भिक्षु आनन्दले भने,‘ध्यान बस्न इच्छुक व्यक्तिहरु आउदा ७ दिन, १० दिनको ध्यान शिविर हुन्छ । यही बस्नुपर्ने हुन्छ । आवश्यक पर्ने लत्ताकपडा ल्याएर यही बसेर ध्यान गर्ने हो । शुल्क लिदैनौं ।’
बिहारका उपाध्यक्ष नरेश शाक्यका अनुसार मुर्तिलाई श्रृंगार गरेर समितिले कहिले र कसरी उद्घाटन गर्ने भनेर निर्णय गर्नेछ । ‘समिति बसेर निर्णय गछौं । मुर्तिको फिनिसिङको काम बाँकी नै छ,’उनले भने,‘चैत्यको गर्भमा राख्ने २८ वटा ढलान मुर्ति पनि केही दिनमै आउदैछ ।’
समाजसेवी राजिव हलवाईले त्रिरत्न बिहारबाट धरानको ७५ प्रतिशत भुभाग पनि देखिने भएकोले पर्यटकहरु आकर्षित हुने बताए । ‘बौद्धमार्गीलाई तीर्थस्थल र अन्यलाई पर्यटकीयस्थल हुनेछ,’ उनले भने, ‘धरान धार्मिक पर्यटकीय गन्तव्य बन्ने विश्वास छ ।’
भिडियो: