धरान: २५ औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको आयोजकले आय व्यय सार्वजनिक गरेको छ ।
आयोजक धरान फुटबल क्लबले आइतबार पत्रकार सम्मेलन गर्दै गत माघ १९ देखी २६ गतेसम्म आयोजना भएको प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । होटल पुर्वी स्टारमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबाट ६ लाख ५९ हजार ५० रुपैयाँ वचत भएको जानकारी दिएको थियो । कोषाध्यक्ष धनबहादुर राईका अनुसार ६६ लाख ९९ हजार १५० रुपैयाँ आय भएको थियोे भने ६० लाख ४० हजार १०० रुपैयाँ खर्च भएको थियो ।
केही ठाउँबाट बजेट प्राप्त हुन बाकी रहेकोले नाफा हुने रकम बढ्न सक्ने अध्यक्ष प्रताप तामाङले बताए । उनका अनुसार अखिल नेपाल फुटबल संघ एन्फाबाट ५ लाख, राष्ट्रिय खेलकुद परिषद काठमाण्डौबाट ३ लाख र धरानका सबै वडाहरुबाट ७ लाख गरि १५ लाख रकम प्राप्त हुन बाकी छ । "यो रकम पाउनको लागि हामी निरन्तर पहल गर्नेछौं, प्राप्त भयो भने नाफा अझै बढ्छ" अध्यक्ष तामाङले भने । गत बर्ष यसरी नै प्राप्त हुन बाकी प्रदेश खेलकुद बोर्डबाट रकम नपाएको पनि उनले बताए ।
प्रतियोगिता २५ औं सस्करणसम्म आईपुग्दा पनि संघसस्था, व्यक्तिगतरुपमा देश, विदेशका साथीभाईसङ्ग सहयोग जुटाएर आयोजन गर्नुपरिरहेको अध्यक्ष तामाङले बताए । यो बर्ष अघिल्लो बर्षको तुलनामा सहयोग कम जुटेको पनि उनले बताए । "कहिलेसम्म सहयोग उठाएर गर्ने ? त्यही भएर हामीले अक्षयकोष बनाउने कुरा गरेको हो । युके र हङकङबाट सहयोग गर्ने कुरा भएको छ," उनले भने,"धरान उपमहानगरले बर्षीनी २० लाख रुपैयाँ बजेट दियो भने प्रतियोगिता गर्न सहज हुन्छ ।"