धरान: अन्तर वडास्तरीय २५ औं टेष्टी टेष्टी गोधुली फुटवल रनिङ कपको सम्पुर्ण तयारी पुरा भएको छ । 

आयोजक गोधुली क्लबले धरान १६ स्थित रंगशालामा पत्रकार सम्मेलन गर्दै चैत ७ (बिहिबार) देखि शुरु हुने प्रतियोगिताको खेलहरु रात्रीकालिन (नाइट गेम) हुने जानकारी दिएको छ । यसको लागि फ्लड लाइट जडान गरिसकेको क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए । 

मिनि ब्राजिलको उपमा पाएको धरानमा रात्रीकालिन फुटबल खेल पहिलो पटक हुन लागेको हो । गोधुली कपको रजत जयन्ती भएकोले पनि प्रतियोगितालाई बिशेष बनाउन रात्रीकालिन खेल सञ्चालन गर्न लागेको उपाअध्यक्ष केसीले बताए । फ्लड लाइटको लागि ८ लाख २५ हजार खर्च गरिएको पनि उनले बताए । 

प्रतियोगिताको फाइनल चैत २१ गते हुनेछ । भोली हुने उद्घाटन समारोहलाई बिशेष आकर्षक बनाउन चर्चित गायक पुर्ण राई एण्ड दाजुभाईको प्रस्तुती पनि रहने आयोजकले जानकारी दिएको छ । उद्घाटन खेलमा पुर्ण राईको प्रस्तुतीसमेत भएकोले टिकट दर १०० रहने पनि उपाध्यक्ष केसीले बताए । अरु बेला भने टिकट दर ५० रुपैया रहनेछ भने सेमीफाइनल र फाइनलमा टिकटदर वृद्धि हुनेछ । 

godhuli cup

रात्रीकालिन खेल हुने भएकोले खेलप्रेमीहरुलाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ । प्रतियोगितामा धरान उपमहानगरपालिकाको वडा नं २ र ७ बाहेक अन्य सबै १८ वटा वडा कार्यालयहरुको टिमले भाग लिएको छ । उद्घाटन खेल वडा नं ५ र १६ बीच हुनेछ । 

विजेताले रनिङ ट्रफीसहित आयोजकबाट नगद १ लाख ५० हजार पुरस्कार पाउनेछ भने उपविजेताले नगद ७५ हजार पाउनेछ । साथै, वडा नं १८ का वडाअध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले विजेता र उपविजेता दुवै टिमलाई थप २५/२५ हजार नगद पुरस्कार प्रदान गर्ने पनि आयोजक क्लबले जानकारी दिएको छ । 

godhuli1

यसैगरि, प्रतियोगिताको वेष्ट प्लेयरलाई नगद १५ हजार, हाई स्कोररलाई ७ हजार ५ सय पुरस्कार दिइनेछ भने वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, वेष्ट कोच, वेष्ट स्ट्राइकर, वेष्ट राइजिङ प्लेयर, वेष्ट मिडफिल्डर र म्यान अफ दि म्याचलाई जनही नगद ५ हजार ५ सय पुरस्कार दिइनेछ । प्रतियोगिताको समापनमा उत्कृष्ट समाचार सम्प्रेशन गर्ने पत्रकारलाई सुवास राई स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित पनि गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको लागि कुल आय २४ लाख ९५ हजार अनुमान गरिएको छ भने २४ लाख १८ हजार ३३५ रुपैया खर्च अनुमान गरिएको छ । 

भिडियो:

भिडियो: