धरान: धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) आगामी मे महिनाको पहिलो साता हङकङ भ्रमणमा जाने भएका छन् ।

धरान हङकङ मञ्चको निमन्त्रणामा मेयर साम्पाङ मे पहिलो साता हङकङ भ्रमणमा जान लागेका हुन् ।  मञ्च र एस अफ स्पेडस् इन्टरटेनमेन्ट संस्थाले बिहिबार धरानमा पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ प्रमुख अतिथि रहने कार्यक्रमबारे जानकारी दिएको हो । धरान हङकङ मञ्चका पुर्वअध्यक्ष एवं सल्लाहकार नानीचन्द्र सिंघकका अनुसार हङकङमा बसोबास गर्ने धरानबासी र स्थानीय सरकारबीच धरानको विकास र समृद्धिबारे भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुनेछ । उक्त कार्यक्रमको लागि मेयर साम्पाङलाई प्रमुख अतिथिकोरुपमा निमन्त्रणा गरिएको पनि उनले बताए । 

‘तपाईहरुलाई थाहै छ, हङकङलाई कर्मथलो बनाएर बसोबास गर्ने धरानबासी नागरिकहरु हजारौंको संख्यामा छौं । हामी हङकङमा भएपनि हाम्रो मनमा सधै धरानको माया रहीरहन्छ, र धरानको विकास, उन्नती र प्रगति भएको हामी देख्न चाहन्छौं,’ विज्ञप्ती वाचन गर्दे सिंघकले भने,‘धरानको विकास र समृृद्धिको लागि यहाँको स्थानीय सरकार र हङकङमा बसोबास गर्ने धरानबासीहरुबीच कसरी सहकार्य गर्न सकिन्छ ? भन्ने उद्देश्यले अन्तरक्रिया तथा भेटघाट कार्यक्रम आयोजना गर्न लागेका छौं ।’ कार्यक्रममा धरानको विकास, समृद्धिको लागि कसरी योगदान गर्ने भनेर हङकङमा रहेका संघसंसस्थाहरुबीच वृहत छलफल हुने पनि उनले बताए । 

मञ्च स्थापना भएदेखि धरानको समग्र विकास निर्माणमा योगदान पुर्याउदै आएको छ । मञ्चले धरानको विकासमा गरेको धेरै कामहरुमध्ये भानुचोकमा निर्माण भएको घण्टाघर र धरान १६ स्थित रंगशालाको मुख्य प्रवेश गेट प्रमुख हुन् । पछिल्लो समय धरानमा श्रमदानबाट निर्माण भइरहेको विभिन्न पार्कहरुमा र खानेपानी आयोजनाहरुमा पनि हङकङबाट ठुलो आर्थिक सहयोग भइरहेको सल्लाहकार सिंघकले जानकारी दिए । 

नेपाल फेष्टमा १९७४ एडि, सविन राई, तृष्णा गुरुङलगायतको प्रस्तुती

nepal fest

नेपाली कला सँस्कृतिलाई अन्र्तराष्ट्रियस्तरमा प्रर्वद्धन गर्ने उद्देश्यले सन् २०२१ मा एस अफ स्पेड्स इन्टरटेनमेन्ट नामको संस्था स्थापना भएको थियो । उक्त संस्थाको आयोजनामा आगामी मे ३ र ४ तारिखमा नेपाल फेष्ट २०२५ हङकङ नामको वृहत साँस्कृतिक तथा सांगीतिक कार्यक्रम आयोजना गर्दैछ । 

उक्त कार्यक्रमको प्रमुख अतिथिकोरुपमा पनि मेयर साम्पाङ सहभागी हुने आयोजक एस अफ स्पेड्सले जानकारी दिएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका सल्लाहकार अग्नी लिम्बुले हङकङमा बसोबास गर्ने सम्पुर्ण नेपालीहरुलाई एकै ठाउँमा उभ्याएर नेपालीपनको भावना जागृत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। 

hongkong1

‘कार्यक्रमले भाईचारा, भातृत्वको सम्बन्धलाई अझ प्रगाढ गराउनेछ, हामी नेपाली हुनुको गौरवलाई अझ बढाउने अपेक्षा लिएका छौं,’ उनले भने, ‘दुई दिन आयोजना हुने कार्यक्रममा नेपालीत्व झल्कने विभिन्न मौलिक साँस्कृति झाँकीहरु प्रस्तुती एवं प्रर्दशन हुनेछ भने जातीय मौलिक खानाको परिकारहरुको स्टल हुनेछ । नेपाली कलाशैली झल्कने हस्तकलाका सामग्रीहरुको पनि स्टल रहनेछ ।’

पहिलो दिन मे ३ मा नेपालका ख्यातीप्राप्त कलाकार तथा ब्याण्डहरु १९७४ एडी, रचना दाहाल र ‘ट्रियो नो ट्रिवल’ का साथै हङकङबासी नेपालीको लोकल ब्याण्डको पनि प्रस्तुती रहने सल्लाहकार लिम्बुले जानकारी दिए । यस्तै, मे ४ मा चर्चित ब्याण्ड सविन राई एण्ड द फारोह, अल्बाट्रोस, स्वर, तृष्णा गुरुङ एण्ड द कोल्याबको पनि प्रस्तुती रहने उनले बताए । दुवै दिनको कार्यक्रमको उद्घोषण पुर्वमिस नेपाल माल्भिाका सुब्बाले गर्ने पनि सल्लाहकार लिम्बुले बताए ।

भिडियो:

भिडियो:

भिडियो: