धरान: नवौं हराईजन बास्केटवल रनिङ कप २०८१ भोली (शनिबार) देखि शुरु हुने भएको छ ।
आयोजक हराईजन क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत ९ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने जानकारी दिएको हो । धरान १७ स्थित माध्यामिक विद्यालयको बास्केटवल कोर्टमा हुने प्रतियोगिताको खेलहरु यसपाली लिगको आधारमा हुनेछ ।
प्रतियोगितामा त्रिभुवन आर्मी, विशाल मिलन केन्द्र काठमाण्डौं, धरान रातो, मोरङ बास्केटवल संघ, झापा बास्केटवल संघ र धरान टिम (निलो) सहभागी हुने पुर्वअध्यक्ष वसन्त राईले दिए । सहभागी टिमहरु २ समुहमा रहने र लिग चरणको खेलमा समुह विजेता टिम फाइनलमा प्रवेश गर्ने पनि उनले बताए ।
प्रतियोगिताको विजेताले ट्रफीसँगै नगद १ लाख ५१ हजार १११ रुपैया पुरस्कार पाउनेछ भने उपविजेताले ७५ हजार रुपैया पाउनेछ । विजेता र उपविजेताको नगद पुरस्कार वृद्धि भएको पनि आयोजकले जनाएको छ । अघिल्लो सँस्करणमा प्रथम पुरस्कार १ लाख ११ हजार र उपविजेतालाई ५५ हजार पुरस्कार रहेको थियो ।
यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार, उदयीमान खेलाडीलाई नगद १० हजार पुरस्कार दिइने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको अनुमानित आय १० लाख ९० हजार रहेको छ भने व्यय ७ लाख ५१ हजार १११ रुपैया रहेको पनि आयोजकले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा वरिष्ठ पत्रकार हर्ष सुब्बा, प्रदेश खेलकुद बोर्डकी सदस्य रोशनी राईले पनि मन्तव्य व्यक्त गरेका थिए ।
भिडियो :