धरान: रात्रीकालिन २५ औं गोधुली रनिङ कप फुटबल प्रतियोगितामा ६ पटक विजेता वडा नं १९ टाइब्रकेरमा वडा १८ सँग पराजित भएको छ ।
धरान १६ स्थित रंगशालामा सोमबार भएको पहिलो खेलमा निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा ३–२ गोलले पराजित गर्दै वडा १९ स्तब्ध बन्यो । खेलको निर्धारित समयमा वडा १९ ले अग्रता लिएको थियो ।
दोस्रो हाफको ११ औं मिनेटमा प्रवेश राईले गोल गर्दै वडा १९ लाई अग्रता दिलाएका थिए । तर, इञ्जुरी समयमा वडा १९ सम्हालिन नसक्दा खेल टाइब्रेकरमा धकेलियो । दोस्रो हाफको ४५ औं मिनेटमा विनोद कुमार चौधरीले गोल गर्दे खेल बराबरी बनाए ।
टाइब्रेकरमा वडा १८ का निकेश राई, सौनक श्रेष्ठ र रोशन उरावको प्रहार गोलमा परिणत भएको थियो भने उज्वल राई र विवेक परियार गोल गर्न असफल भएका थिए । वडा १९ का सनम लिम्बु र इन्सन राई मात्र गोल गर्न सफल भए । आयम राई, अभिषेक राई र नामहाङ लिम्बुको प्रहार वडा १८ का गोलकिपरले असफल बनाइदिए । उक्त खेलको म्यान अफ दि म्याच पनि वडा १८ का गोलकिपर धिरज बस्नेत घोषित भए ।
वडा नं १९ गोधुलीको ६ पटकको विजेता हो । वडा १९ ले गोधुलीको पाँचौं, सातौं, आठौं, एघारौं, बाह्रौं र सोह्रौं सँस्करणमा उपाधि जितेको थियो । वडा १८ ले भने दोस्रो र दशौं सँस्करण मात्र जितेको छ ।
यसैगरि, आज (सोमबार) नै भएको दोस्रो खेलमा वडा ११ सँग ३–१ गोलअन्तरले वडा नं ३ पराजित भएको छ । खेलमा गोलको खाता भने वडा नं ३ ले खोलेको थियो । पहिलो हाफको ६ मिनेटमै युनिक लिम्बुले गोल गर्दै वडा ३ लाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा भने लय समाउदै वडा ११ ले ३ गोल गर्यो । पहिलो गोल दोस्रो हाफको १२ औं मिनेटमा प्रविण राईले गरेका थिए भने थप २ गोल पवन राईले गरेका थिए । उनले एक गोल भने पेनाल्टीमा गरेका थिए । उक्त खेलको म्यान अफ दि म्याच पनि पवन नै घोषित भएका थिए ।
वडा ११ गोधुलीमा तीन पटक विजेता बनेको छ । गोधुलीको पहिलो सँस्करण, चौथो र १३ औं सँस्करणमा वडा ११ विजेता टिम हो । वडा ३ ले भने अहिलेसम्म गोधुलीमा उपाधि जितेको छैन । प्रतियोगितामा भोली मंगलबार पहिलो खेलमा साझ साढे ५ बजे वडा नं १७ र वडा नं २० बीचमा हुनेछ भने दोस्रो खेल साढे ७ बजे वडा नं ४ र वडा नं १३ बीच हुने आयोजक गोधुली क्लबले जनाएको छ ।