धरानः ९ औं हराईजन बास्केटवल कपमा त्रिभूवन आर्मी क्लब तेस्रो पटक च्याम्पियन भएको छ । 

धरान–१७ स्थित श्री माविको बास्केटबल कोर्टमा मंगलवार सम्पन्न फाईनल खेलमा आर्मीले ११३–७० को फराकिलो स्कोरमा धरान टिम कालोलाई हराउँदै तेस्रो पटक च्याम्पियन भएको हो । आर्मी यसअघि २०७६ र २०७८ मा पनि च्याम्पियन बनेको थियो । 

पहिलो क्वार्टरमा आर्मीले ३८–१३ को फराकिलो अन्तरमा स्कोर गरेपनि दोस्रो क्वार्टरमा धरानले २२–२१ को स्कोर गरेको थियो । तर, तेस्रो र चौथो क्वार्टरमा भने आर्मीले २७–१४ र २७–२१ स्कोरले धरानलाई रोक्दै उपाधिमाथि कब्जा जमायो । 

horizan basket final1

च्याम्पियन आर्मीले उपाधी ट्रफीसँगै नगद १ लाख ५१ हजार १११ रुपैयाँ हात पारेको छ भने उपविजेता धरान टिम कालोले नगद पुरस्कार ७५ हजार पाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी निश्चल महर्जन घोषित हुदै नगद २५ हजार हात पारे भने उदयीमान खेलाडी घोषित भएका धरान कालोका साहिल तामाङले नगद १० हजार पाए । फाइनल खेलको म्यान अफ दि म्याच धरान कालोका सर्बो राई भए । प्रतियोगिता समापन समारोहमा पत्रकार स्वर्णिम राईलाई नगद १० हजारसहित पुरस्कृत गरिएको थियो । 

वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) प्रमुख अतिथि रहेको समापन समारोहमा विजेता र उपविजेता खेलाडीहरुलाई आयोजक हराईजन क्लबका अध्यक्ष श्रीभक्त राई, पुर्वराष्ट्रिय खेलाडी इन्दु रसाइली, वडा नं १६ का अध्यक्ष मुरारी भट्टराई, अग्रज पत्रकार हर्ष सुब्बालगायतले पुरस्कार विरतण गरेका थिए ।