धरान: इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजास्थित बरण्डा होटलमा लागेको आगो नियन्त्रणमा लिन विभिन्न स्थानीय तहका एक दर्जन दमकलसँगै ठुलो संख्यामा सुरक्षाकर्मीहरु परिचालन भएको छ । 

प्लाजामा फसेका ११ जनाको उद्दार नेपाली सेना, सशस्त्र र प्रहरीले डोरीमार्फत गरेका थिए । २ जनाको उद्दार गर्न गाह्रो भएपछि नेपाली सेनाको हेलिकप्टर काठमाण्डौंबाट ल्याएर उद्दार गरिएको इटहरीका पत्रकार विवेक विवश रेग्मीले जानकारी दिए । 'सेना, प्रहरीको टोलीले डोरीमार्फत आगो फैलनुअघि नै उद्दार गरेको थियो,' उनले भने, '२ जनालाई त्यसरी उद्दार गर्न सम्भव नभएपछि हेलिकप्टरमार्फत उद्दार गरिएको हो ।' 

करिब साढे ९ बजेदेखि शुरु भएको आगलागी दिउँसो १ बजेसम्म पनि पुर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रण गर्न एक दर्जन दमकल परिचालन भएको छ । सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिमिल्सिना आफै फिल्डमा खटिएका छन् । प्रहरी टोली भवन भित्र प्रवेश भएको र आगो नियन्त्रणको प्रयास जारी रहेको एसपी तिमिल्सिनाले बताए । उनले भने, हामी भवनभित्र प्रवेश गरेका छौं, आगो अझै नियन्त्रणमा आइसकेको छैन ।