धरान: प्रहरीले उदयपुरको बेलका नगरपालिका ६ स्थित खोला किनारमा बेवारीसे अवस्थामा रहेको ८९१ किलो भन्दा बढी गाँजा बरामद गरेको छ।
विशेष सुचनाको आधारमा शनिबार (चैत्र १६) गते जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले गाँजा वरामद गरेको हो । गस्ती टोलीले मुर्ती खोला किनारमा बोराभित्र प्लाष्टिकमा बेरेर लुकाएर राखेको ८ सय ९१ किलो ४२३ ग्राम गाँजा वरामद गरेको प्रहरीले जनाएको छ । ती गाँजा ३९ पोका बनाएर लुकाएको अवस्थामा भेटिएको थियो ।
वरामद भएको उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखिएको छ भने ओसारपसार कार्यमा संलग्न व्यक्तिको खोजतलास लगायत थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । यसैगरि, जिल्ला प्रहरी कार्यालय उदयपुरले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका १२ का रोहित झा र विवेक बिकलाई प्रतिबन्धित लागूऔषध ट्याव्लेट ६० चक्की सहित पक्राउ गरेको पनि जानकारी दिएको छ ।