धरान: मुक्कुमलुङ पाथीभारामा केवलकार बनाउनुपर्ने पक्षको भनिएका पदम चेम्जी मावोलाई कालोमोसो दल्ने र हातपात भएको घटनामा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी परिचालित भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मावोले ईलाका प्रहरी कार्यालय धरानमा उजुरी दिने तयारी गरेका छन् भने घटना संलग्नहरुलाई पक्राउ गर्न प्रहरी परिचालन भइसकेको छ । ‘उजुरी दिने भन्ने कुरा आएको हो, टोली परिचालन भइसकेको छ,’ जिल्ला प्रहरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश अधिकारीले भने,‘गलत काम भएको छ, ढिलोछिटो कारबाही हुन्छ । उहाँहरुले गरेको जे हो, त्यही अनुसार कारबाही हुन्छ ।’
आइतबार धरान २ स्थित एच के मेलोडी रेष्टुरेष्टमा याक्थुङ चुम्लुङले महाधिवेशन सकेपछि पत्रकार सम्मेलन आयोजना गरेको थियो । सोही पत्रकार सम्मेलनमा नयाँ कार्यसमितिको उपाध्यक्षमा निवार्चित मावो पनि सहभागीता जनाएका थिए । पत्रकार सम्मेलन हुदै गर्दा नो केवलकार पक्षका व्यक्तिहरु पुगेपछि विवाद भएको थियो । पत्रकार सम्मेलन सकिएलगत्तै नो केवलकार पक्षका युवाहरुले मावोलाई वंश गद्दार भन्दै मोसो दलेका थिए भने आक्रोशित हुदै हातपात पनि गर्न खोजेको भिडियो सामाजिक सञ्जालमा भइरल भएको थियो ।
मावो ईलाका प्रहरी कार्यालय धरानमा पुगेको र उजुरी दिने तयारीमा रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । ‘उहाँ (पदम मावो) अफिसमा पुग्नुभएको छ, र उजुरी दिने तयारीमा हुनुहुन्छ,’ ईलाका प्रहरी स्रोतले भन्यो, ‘हामी फिल्डमा खटिइसकेका छौं ।’
आन्दोलनरत नो केवलकार पक्षले भने कुटपिट नगरेको र बढी नै बोल्न थालेपछि आक्रोशित युवाहरुले सचेत मात्र गराएको दाबी गर्छन् । पहिचानवादी मोर्चाका युवा नेता जेन्टल लावतीले शान्तिपुर्ण आन्दोलनकै रुप भएको बताए । ‘आन्दोलन निरन्तर जारी छ, शान्तिपुर्ण आन्दोलनकै रुप हो । कुटपिट भएको छेन, सचेत गराउन गएको हो,’ उनले भने,‘बाढी नै बोल्न थालेकोले युवाहरु आक्रोशित छन् । साथीको छाती गोली चलिसक्यो, जथाभावी बोल्न थालेपछि कसरी हेरिरहन सक्छ ?’