धरान: ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकामा जन्मिएपनि शुभचन्द्र राई धरान झरेपछि यतैका भए । धरानमै उनको परिचय बन्यो । उनी सामाजिक संघसंस्थामा सक्रिय बने । शिक्षा क्षेत्रमा पनि उनको योगदान रह्यो ।
सामाजिक संघसंस्था र किरात राई यायोक्खामार्फत समुदायको उत्थानको लागि सक्रिय राई धरानबाट एक्कासी हराएका थिए । भुपु ब्रिटिश लाहुरे परिवारको नियति पछ्याउदै उनी पनि बेलायत पुगे । तिनै शुभचन्द्र राई अहिले धरानमा छन् । बेलायतबाट आउदा भने उनले साहित्यिक कोसेली लिएर आएका छन्, ‘समयले जन्माएका कथाहरु’।
बुधबार धरान १० स्थित किरात राई यायोक्खाको यलम्बर स्मृति संग्राहलय भवनमा उनको यही कथा संग्रहको लोकार्पण कार्यक्रम थियो । कथाकार राई उक्त भवनको हलभित्र छिर्दै गर्दा निक्कै भावुक बने । एक समय उनी यही भवनमा यायोक्खा जिल्ला अध्यक्षकोरुपमा कार्यकाल बिताएका पनि थिए । उनी हलमा छिर्दैगर्दा विगत सम्भिएर मन भारी भएको थियो । मनमा भएको हलचललाई मन्तव्यको क्रममा उनले पोखे,‘म हलभित्र छिर्दैगर्दा शुन्य झै भए ।’
कथाकार राईले आफु साहित्यकार नभएपनि अनुभूतिहरु लेख्नेक्रममा कथा संग्रह जन्मिएको बताए । आफ्ना साथीहरुले उत्प्रेरित गरेर कथासंग्रह तयार भएको पनि उनले खुलाए । उनका संग्रहमा ८६ वटा कथाहरु छन् ।
भाषाविद् एवं प्राध्यापक डा.टंक न्यौपानेले कथा संग्रह प्रकाशन गरेर कथाकार राई अमर बनेको बताए । ‘कृति र सृर्जनाबाट मानिस अमर हुने हो, सृर्जनबाट मानिस बाँच्ने हो । सुवास मृत्यु पछि पनि अब बाँच्नेछ,’ न्यौपानेले भने । डा.न्यौपानेले कथाहरुको भाषामा जनबोली रहेको बताए । आफ्नो गाउँ, परिवेश र समयलाई इमान्दारितापुर्वक कथाकारले अभिव्यक्त गरेको पनि डा.न्यौपानेको भनाई थियो । ‘कथा पढ्दा के लाग्यो भने भाषामा जनबोली छ । जनताकको भाषा छ, गाउँमा जे बोल्छौं, त्यही छ । यथार्थ छ, ग्रामिण परिवेश छ, गाउँलाई माया गरेको छ,’ उनले भने ।
साहित्यकार एवं अग्रज पत्रकार गोपाल देवानले पैसा कमाउन बेलायत गएको शुभचन्द्रले कथा लिएर आएको बताउदै कथासंग्रह नेपाली साहित्यमा एउटा इटा थपिएको धारणा व्यक्त गरे । ‘यो कथाहरु समयले नै जन्माएको कथाहरु हो, शील्पगत र विचारगतरुपमा सशक्त छ,’उनले भने,‘८६ वटा कथाको शीर्षक मात्रै पढ्यौं भने पनि कुन समयको कथा बोल्न खोज्दैछ भन्ने थाह पाउछौं ।’
साहित्यकार देवानले कथाहरुमा परिवेश चित्रण पनि उत्कृष्ट भएको बताए । ‘भावना, अनुभूति, अनुभव छ र नयाँपनको महशुस हुन्छ,’उनले भने,‘चरित्र चित्रण, पात्र चित्रण र परिवेश चित्रण सशक्त छ ।’ देवानले भुँइमान्छेको, किनारा लगाइएका मान्छेहरुको कथा आउनुपर्ने पनि बताए । पत्रकार गणेश राईले कथाकार राईको यात्रा सँस्मरणबारे जानकारी गराएका थिए । किरात राई यायोक्खा जिल्ला कार्यसमिति अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान मेयर तिलक राईले पनि मन्तव्य व्यक्त गरेका थिए ।