धरान: ९ औं हराईजन बास्केटवल रनिङ कपमा विराटनगर बास्केटवल एकेडेमी मोरङ र बिशाल मिलन केन्द्र, काठमाण्डौं विजयी भएको छ ।
श्रीमाविको बास्केटवल कोर्टमा आइतबार सम्पन्न पहिलो खेलमा मोरङले झापा बास्केटवल संघलाई ८३–७१ को झिनो स्कोरले हरायो । मोरङले पहिलो, दोस्रो र तेस्रो क्वार्टरमा झापालाई क्रमशः २५–८, २०–१९ र २०–११ स्कोरले पछि पारेको थियो । चौथो क्वार्टरमा झापाले लय समाउदै मोरङलाई ३३–१८ स्कोरले पछि पारेपनि खेलमा हार टार्न भने सकेन । उक्त खेलको म्यान अफ दि म्याच मोरङका मनिस तामाङ घोषित हुदै नगद ५ हजार हात पारे ।
यसैगरि, दोस्रो खेलमा बिशाल मिलन केन्द्र (बिएमके) काठमाण्डौंले धरान टिम (हरियो)लाई ७८–६३ को स्कोरले पराजित गर्यो । पहिलो, दोस्रो र तेस्रो क्वार्टरमा बिशाल मिलनले क्रमशः १४–१०, २४–१६ र २६–१२ स्कोरले धरान टिम हरियोलाई पछि परेको थियो । चौथो क्वार्टरमा खेलमा फर्कदै धरानले २५–१४ को स्कोरले रोके पनि बिएमकेलाई जित हासिल गर्नबाट भने रोक्न सकेन । उक्त खेलको म्यान अफ दि म्याच धरानका समिर राई घोषित भए । उनले नगद ५ हजार हात पारे ।
भोली सोमबारको खेल त्रिुभवन आर्मी र बिशाल मिलन केन्द्र काठमाण्डौंबीच पहिलो खेल हुनेछ भने दोस्रो खेल धरान टिम कालो र मोरङ बास्केटवल संघ विराटनगरबीच हुने आयोजकले जनाएको छ । लिग चरणको खेलहरुमा दुई समुहबाट शीर्ष स्थानमा रहने एक एक टिम फाइनल प्रवेश गर्नेछ ।