धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले चालु आर्थिक बर्ष २०८१/०८२ को बजेट संशोधन गर्ने निर्णय गरेको छ ।
आज बिहान बसेको बैठकले बजेट संशोधन गर्दै अनुमोदनको लागि नगरसभामा पेश गर्ने निर्णय पनि गरेको छ । धरानको नगरसभा आज दिउँसो १ बजेदेखि उपमहानगरपालिका प्रांगणमा शुरु हुदैछ । गत पुष २० देखि २४ गतेसम्म आयोजना भएको धरान उत्सवको लागि बार्षिक बजेटमा विनियोजन भएको खर्च अपुग भएपछि बजेट संशोधन गरिएको हो ।
उक्त उत्सवको स्टलहरुको भाडाबाट उठेको रकमसमेत गरी १० लाख ३२ हजार चालु आर्थिक बर्षको आन्तरिक आयको अनुमानमा थप गरी सोही बराबर रकम उत्सव विनियोजनमा थप गरी नगरसभामा अनुमोदनको लागि पेश गर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ । यो निर्णय नगरसभाबाट अनुमोदन भएपछि धरानको बजेट १ अर्ब ८९ करोड ५४ लाख ८० हजार २८० रुपैया हुनेछ । यसअघि नगरसभाबाट स्वीकृत बजेट १ अर्ब ८९ करोड ४३ लाख ४८ हजार २८० रुपैया रहेको थियो । उक्त बजेटमा १० लाख ३२ हजार थप भएको हो ।