धरान: २५ औं गोधुली टेष्टी टेष्टी रनिङ कपको शनिबार राती भएको खेलमा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं गोलकिपर एन्जिला तुम्वापो उपस्थिति जनाएकी छिन् ।
आफ्नो जीवनमा आधारित फिल्म एञ्जिलाको प्रर्वद्धन गर्ने क्रममा तुम्बापो शनिबार राती धरान १६ स्थित रंगशालामा आएकी थिइन् । एञ्जिला रंगशालामा आउने भएपछि वडा नं ५ र वडा ११ बीचको खेल निर्धारित समयभन्दा केही ढिला शुरु भएको थियो ।
एन्जिलासँगै निर्देशक मिलन चाम्स, कलाकार सृर्जना सुब्बासमेत रंगशालामा आएका थिए । उनीहरु गाडीमा रंगशाला प्रवेश गर्दैगर्दा प्याराफिटबाट दर्शकहरुले स्वागतमा ताली र हुटिङ गरेका थिए । एञ्जिलाले खेल शुरु हुनुअघि वडा ५ र ११ का खेलाडीहरुलाई मैदानमा भेटेर शुभकामना दिएकी थिइन् । साथै रेफ्रीलाई वल हस्तान्तरण पनि गरेकी थिइन् । रंगशाला आउनुअघि धरानकै फ्रेन्ड्स सिनेमा हलमा पुगेर दर्शकहरुसँग भेट पनि गरेकी थिइन् ।
वडा नं ५ सँग तीन पटकको विजेता वडा ११ पराजित
रंगशालामा जारी गोधुली रनिङ कपको शनिबार तेस्रो क्वार्टरफाइनल खेलमा वडा नं ५ विजयी हुदै सेमीफाइनल प्रवेश गरेको छ । खेलमा वडा ५ ले गोधुलीमा ३ पटकको विजेता वडा ११ लाई ३–० गोलअन्तरले पराजित गर्यो ।
खेलमा वडा ५ का तिलबहादुर लावतीले २ गोल गरे भने सुबास लिम्बुले एक गोल गरे । तीन वटै गोल पहिलो हाफको खेलमा भएको थियो । खेलको चौथो मिनेटमा नै सुवासले गोलको खाता खोलेका थिए । यस्तै, ११ औं र ३७ औं मिनेटमा तिलबहादुरले गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच वडा ५ का मिजास आङबुहाङ घोषित हुदै नगद २ हजार हात पारे । वडा न. ५ ले सेमीफाइनलमा वडा नं १५ को सामना गर्नेछ । भोली (आइतबार) अन्तिम क्वार्टरफाइनल खेल वडा नं १७ र वडा नं १८ बीच हुने आयोजक गोधुली क्लबले जानकारी दिएको छ ।
भिडियो: