धरान: मुक्कुमलुङ/पाथीभारामा केवलकार बनाउनुपर्ने पक्षका पदम चेन्जी मावोलाई कालोमोसो दलेको घटनामा प्रहरीमा जाहेरी दर्ता भएको छ ।
नो केवलकार पक्षका युवाहरुले मोसो दलेको घटनामा मावोले आइतबार साँझ ईलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका थिए । उक्त जाहेरी अपराधिक उपद्रवमा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए । ‘अपराधिक उपद्रवमा जाहेरी दर्ता भइसकेको छ, घटनामा संलग्नहरुको खोजी शुरु भइसकेको छ,’ उनले भने ।
प्रहरीमा जाहेरी दर्ता भएको खबर पाएसँगै मोसो दलेको घटनामा संलग्न भनिएका नो केवलकार पक्षका युवाहरु भुमिगत भएका छन् । नो केवलकार आन्दोलनको नेतृत्व गरेकाहरु मोवाइल फोन स्वीच अफ गरेका छन् । नो केवलकार पक्षका जेन्टल लावती, विष्णु थाम्देन, शिवहाङ राईसहितका युवाहरु भुमिगत भएका छन् । उनीहरुले सामाजिक सञ्जाल फेसबुकमा भुमिगत भएको जानकारी पनि दिएका छन् ।
कालोमोसो दलेको घटनामा प्रहरीले पक्राउ गर्ने सुचना पाएपछि उनीहरु हिजो (आइतबार) राती उनीहरु धरान १५ स्थित किरात याक्थुङ चुम्लुङ हिममा बसेका थिए । उनीहरुलाई पक्राउ गर्न प्रहरीले राती नै चुम्लुङ हिम घेराउ गरेपछि चौतर्फी दबाबमा फर्किएको थियो । यद्यपी केही प्रहरीले निरन्तर चुम्लुङ हिमलाई निगरानी गरेको थियो । प्रहरीले निगरानी गरिरहेपछि नो केवलकार पक्षले आफुहरु नजरबन्दमा परेको भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाएको थियो ।
जिल्ला प्रहरीका निमित्त प्रवक्ता अधिकारी भने फरार भएकाहरुलाई आज दिनभरिमा समाउन निर्देशन दिइएको बताउँछन् । ‘आजभरिमा समाउनु भन्ने निर्देशन दिइसकेको छौं । टोली पनि खटिसकेको छ, पक्राउ गछौं,’ उनले भने । प्रहरीमा जाहेरीमा दर्ता भएपनि मुक्कुमलुङ संरक्षण सर्वदलीय संघर्ष समिति, नो केवलकार अभियानका नेतृत्वहरुले मावोसँग छलफल गर्ने प्रयास गरिरहेको छ ।