धरान: मुक्कुमलुङ पाथीभारा क्षेत्रमा केवलकार बनाउने योजना खारेजीको माग गर्दै भइरहेको आन्दोलन चर्किदै गएपछि प्रशासनले निषेध आदेश जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार राती स्थानीय प्रशासन ऐन २०२८ को दफा ६, उपदफा ३(क) वमोजिम निषेध आदेश जारी गरेका हुन् । प्रशासनले आज (आइतबार) बिहान ५ बजेदेखि अर्को आदेश नभएम्मको लागि निषेध आदेश जारी भएको जनाएको छ । प्रशासनले आदेश जारी भएको चारकिल्ला क्षेत्रभित्र ५ जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरेको छ ।
प्रशासनका अनुसार फुङलिङ नगरपालिका बजार क्षेत्रको पुर्वमा वडा नं ७ सल्लेरी, पश्चिममा वडा नं ७ घोडेचौर (थलाङ धारा क्षेत्रसम्म), उत्तरमा वडा नं ४ उकालीपानी र दक्षिणमा वडा नं ६ शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल) चारकिल्लाभित्र निषेधाज्ञा जारी भएको छ ।
यस्तै, काफ्लेपाटी–बल्लुडाँडा क्षेत्रमा पनि निषेधाज्ञा लागु भएको छ । पुर्वतर्फ पर्यटक प्रहरीको भवनको १०० मिटर इलाका, पश्चिममा बल्लुडाँडा/डडेले इलाका, उत्तरमा केवलकार बेस स्टेशन/पानीको मुहान इलाकाको १०० मिटर र दक्षिणमा नयाँ बसपार्क इलाकाको १०० मिटर(जंगल इलाकासमेत)मा निषेधाज्ञा जारी भएको प्रशासनले जनाएको छ ।
नो केवलकार पक्षले केही दिनदेखि ताप्लेजुङ केन्द्रीत आन्दोलन चर्काएका छन् । विरोध स्वरुप शान्तिपुर्ण पदयात्रा गर्दे केवलकारको बेस स्टेशन पुगेका आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो भने गएराती फुङलिङमा राँके जुलुसको क्रममा पनि झडप भएको थियो ।
मध्यराती घर घेराउ गर्दै कुटपिट र धरपकड
प्रशासनले निषेधाज्ञा जारी गरेसँगै गए मध्यराती नो केवलकार पक्षका पहिचानवादीहरुको घरमा पुगेर सशस्त्र प्रहरीले धरपकड र कुटपिट गरेको नेताहरुले बताएका छन् ।
पहिचानवादी नेता खगेन्द्र माखिमले सामाजिक सञ्जाल फेसबुकबाट भिडियो पोष्ट गर्दै चन्द्र मादेन र प्रदिप मादेनको घरमा राती ११ बजे सशस्त्र प्रहरीले घेराउ गरि बर्बर दमन र कुटपि गरेर दर्जनौंलाई पक्राउ गरेको जानकारी दिएका छन् । त्यसक्रममा इलामका युवा नेता रामकुमार राईलाई गम्भीर घाइते बनाएको पनि उनले खुलाएका छन् । निर्घात कुटपिटबाट उनको हात र खुट्टा भाँचिएको बताइएको छ।
अर्का पहिचानवादी नेता कुमार लिङ्देन मिराकले पनि मध्यराती इतिहासकै सबैभन्दा आततायी किसिमले प्रहरी प्रशासन र भिजिलान्तेहरुले नो केवलकार पक्षको घरघरबाट निकालेर पछार्दै, खुट्टा भाच्दै गरेको जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दे उनले भनेका छन्,‘गृहमन्त्रीलाई फोन गर्यो उठ्दैन, हाम्रो पीडा बुझ्ने न सांसद छ, न प्रहरी अधिकारी छ, न मन्त्री छ ।’