धरान: मुक्कुमलुङ /  पाथीभारा क्षेत्रमा केवलकार बनाउनुपर्छ भन्ने पक्षका पदम चेञ्जी मावोलाई कालोमोसो दलिएको घटनामा संलग्न ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

मावोले ईलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएका ८ जनाविरुद्ध अपराधिक उपद्रवको मुद्दा दर्ता भएको थियो । उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए । पक्राउ पुर्जी जारी भएपनि साँझसम्म कोही पनि पक्राउ नपरेको अधिकारीले बताए । उनले भने,‘८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ, अहिलेसम्म कोही पनि पक्राउ परेका छन् ।’

मावोले आइतबार साँझ विष्णु थाम्देन, जेन्टल लावती, शिवहाङ राई, अमर इजम, सुमन चेम्जोङसहित ८ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । आइतबार राती धरान १५ स्थित किरात याक्थुङ चुम्लुङ हिमको आवास गृहमा बसेका केही युवाहरुलाई पक्राउ गर्न प्रहरी पुगेपनि मध्यराती खाली हात फर्केको थियो । पक्राउ पुर्जी आउने भएपछि सोमबार भने ती युवाहरु भुमिगत भएका थिए ।

याक्थुङ चुम्लुङको महाधिवेशन सकेपछि आइतबार धरानको एक होटलमा पत्रकार सम्मेलन भइरहेको स्थानमा नो केवलकार पक्ष पुगेर मावोलाई कालोमोसो दलेका थिए भने हातपातसमेत गर्ने प्रयास भएको थियो । मावो याक्थुङ चुम्लुङको केन्द्रीय उपाध्यक्षमा निवार्चित भएपछि पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । किरात धर्मसँग असहत पक्षले याक्थुङ चुम्लुङ नामको अलग्गै संस्था स्थापना गरेका छन् । यो संस्थाले युमालाई मान्ने गरेको छ ।