धरान: ताप्लेजुङको फुङलिङमा प्रहरीको धरपकडको क्रममा घाइते भएका दुई आन्दोलनकारीलाई उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।
प्रहरीको कुटपिटबाट घाइते भएका समर लिम्बु र शिशिर पोमुलाई उपचारको लागि प्रतिष्ठान ल्याइएको हो । उनीहरुलाई वीपी प्रतिष्ठानको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ । समरको देब्रे हात भाचिएको छ भने शिशिरको टाउँकोमा गम्भीर चोट छ । उनी बोल्न सकिरहेका छैनन् । उनको सिटिस्क्यान गर्ने तयारी भइरहेको छ ।
जसपा नेपाल धरानका अध्यक्ष ताजुब लिम्बुका अनुसार राके जुलुसको क्रममा सांसद योगेश भट्टराईको दाजुको घरमाथिबाट ढुंगा हानेर २ जना आन्दोलनकारीलाई घाइते बनाएको थियो । उक्त घटनापछि आन्दोलनरत पक्षको भिड उत्तेजित भएको, राको फाल्ने कार्य भएको र प्रहरीसँग झडप हुन पुगेको उनले दाबी गरे ।
उक्त झण्ड शान्त भएर आन्दोलनरन पक्ष आआफ्नो बासस्थानमा बसेको बेला सिडिओको आदेशमा प्रहरी प्रशासनले बसेको ठाउँमा गएर बर्बरतापुर्वक कुट्ने, धरपकड गर्ने कार्य भएको लिम्बुले बताए । ‘खाना खाएर बसिरहेको बेला प्रहरी पुगेर धरपकड गरेको छ, राज्य नो केवलकार आन्दोलनलाई बर्बरतापुर्वक दमनमा उत्रिएको छ, यो घोर भत्र्सनायोग्य छ,’ उनले भने ।
आन्दोलनरत पक्षका अनुसार आन्दोलनकारी के कति संख्यामा पक्राउ परे, कति घाइते भए, कस्तो अवस्थामा छन् भन्ने जानकारी पाउन नसकेको जनाएको छ । प्रशासनले निषेधाज्ञा जारी गरेको कारणले पनि सम्पर्क गर्न गाह्रो भएको लिम्बुले बताए । ‘२० जना जति समातियो भन्ने सुचना पाएका छौं, तर यो पनि यकिनका साथ भन्न सकिदैन,’उनले भने,‘साथीहरु कहाँ कहाँ छन्, के भएको छ भन्ने कुरा त्यही भएकाहरुले पनि थाह पाउन गाह्रो छ ।’
ताप्लेजुङका जिल्ला प्रहरी प्रमुख (डिएसपी) रवि रावलका अनुसार प्रहरीतर्फ १२ जना घाइते भएका छन् भने आन्दोलनकारी पनि त्यतिकै संख्यामा घाइते भएका छन् । घाइते मध्ये एक आन्दोलनकारीको फिदिममा उपचार भइरहेको छ भने २ जना धरानमा ल्याइएको छ । प्रहरीले कम्तीमा १५ जनालाई नियन्त्रणमा लिएको पनि बताइएको छ ।
मुक्कुमलुङ पाथीभारा क्षेत्रमा केवलकार बनाउने योजना खारेजीको माग गर्दै आन्दोलन चर्किएर दिनहुँ झडपको स्थिति बनेपछि प्रशासनले आज बिहान ५ बजेदेखि लागु हुनेगरि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । प्रशासनले आदेश जारी भएको चारकिल्ला क्षेत्रभित्र ५ जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरेको छ ।
नो केवलकार पक्षले केही दिनदेखि ताप्लेजुङ केन्द्रीत आन्दोलन चर्काएका छन् । विरोध स्वरुप शान्तिपुर्ण पदयात्रा गर्दे केवलकारको बेस स्टेशन पुगेका आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो भने गएराती फुङलिङमा राँके जुलुसको क्रममा पनि झडप भएको थियो ।प्रशासनले गए मध्यराती नो केवलकार पक्षका पहिचानवादीहरुको घरमा पुगेर सशस्त्र प्रहरीले धरपकड र कुटपिट गरेको थियो ।
भिडियो: