धरान: शान्तिपुर्ण नो केवलकार आन्दोलनलाई सरकारले चरम दमन गरेको आलोचनाको बीच गृहमन्त्रालयद्धारा गठित वार्ता समितिले आन्दोलनरत पक्षलाई पुनः वार्ताको आह्वान गरेको छ । 

सरकारी वार्ता टोली संयोजक एवं गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले सोमबार विज्ञप्ती जारी गर्दै वार्ता र संवादको माध्यमबाट शान्तिपुर्ण समाधान गर्न अपिल गरेका हुन् । उनले आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सास्ँकृतिक तथा स्थानीय समुदायका समस्याको वार्ताको माध्यमबाटै समाधान गर्ने भन्दै केवलकार निर्माण कार्य हाललाई स्थगित गर्ने पनि खुलाएका छन्।  

नो केवलकार आन्दोलन चर्किएपछि गृहमन्त्रालयले माघ २० गते सहसचिव भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । आन्दोलनरत पक्षले भने मन्त्रीस्तरीय वार्ता समिति गठन हुनुपर्ने माग गर्दै आइरहेको छ । सरकारले मन्त्रीस्तरीय समिति गठन नगरी केवलकार निर्माण कार्यलाई निरन्तरता दिएपछि आन्दोलन थप चर्किएको थियो । 

पदयात्रा गर्दै केवलकार निर्माणस्थल पुगेका आन्दोलनरत पक्षसँग झडप भएको थियो भने राँके जुलुसको क्रममा पनि दोहोरो झडप भएको थियो । ताप्लेजुङ फुङलिङ र काफ्लेपाटी क्षेत्र तनावग्रस्त हुदै गएपछि जिल्ला प्रशासनले अनिश्चितकालिन निषेधाज्ञासमेत जारी गरेको थियो । प्रहरीले मध्यराती आन्दोलनकारीलाई घर घरमा पुगेर धरपडक र कुटपिटसमेत गरेको थियो । यसको सर्वत्र निन्दा भएपछि सरकारी वार्ता टोलीले निर्माण कार्य रोकेर वार्तामा आउन आह्वान गरेको हो । 

no kewalkar warta1