धरान: २५ औं गोधुली रनिङ कप रात्रीकालीन फुटबल प्रतियोगितामा १२ नं. वडालाई टाइब्रेकरमा पराजित गर्दै १० नं. वडा प्रिक्वाटर फाइनलमा प्रवेश गरेको छ ।
धरान १६ स्थित रंगशालामा शुक्रबार भएको निर्धारित समयको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा १० नं. वडाले ४–२ गोल अन्तरले जित हात पार्यो ।
टाइब्रेकरमा १० नं. वडाका निमेश लिम्बू, सिसल लिम्बू, शुभम भूजेल र आशिष राईले गोल गरे । १२ नं. वडाको तर्फबाट सञ्जीव राई र सुमन राईको प्रहार मात्रै गोलमा परिणत भएको थियो । टाइब्रेकरमा १२ नं. वडाका सरोज लिम्बूको प्रहार बाहिरिएको थियो भने आयुष राईको प्रहार १० नं. का गोलकिपरले असफल बनाइदिए ।
खेलको म्यान अफ द म्याच १० नं.वडाका गोल किपर कस्तुप पिठाकोटे मगर घोषित भए । शनिबारको खेल वडा नं. ८ र १५ का बीच हुनेछ । रात्रीकालिन खेल साझ ६ बजेदेखि सुरु हुने आयोजक गोधुली क्लबले जनाएको छ ।